TodayPati

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु

शुभ नारायण यादव–
सप्तरी, बैशाख ८ गते ।

सप्तरीको राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।

दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका वडा नं. ३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।

Sponsored

यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।

कोशी अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोर कुमार रामले जानकारी दिए ।

छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना गरिएको मृतकका श्रीमती मञ्जुदेबी यादवले बताइन् ।

Sponsored

कारागार प्रशासनका अनुसार यो समेत गरी राजविराज कारागारका तीनजना कैदीको चैत यता मृत्यु भएको हो ।

यसअघि बैशाखमा ६९ वर्षीय पुरुषको र चैत महिनामा २४ वर्षीय युवकको मृत्यु भएको थियो ।

राजविराज कारागारको बन्दी क्षमता १५ महिलासहित १५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा ८० वर्षीयसहित ६५ वर्ष नाघेका १० जना जेष्ठ नागरिक छन् ।

कारागारमा १ जटिल र १ सामान्य मानसिक रोगी, २ एचआइभी संक्रमित र २ जना पक्षघातबाट पीडित कैदीबन्दीसमेत छन् । रक्तचाप, चिनी, दम र मुटुलगायतका २० जना दिर्घरोगी छन् ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *