एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य
टुडेपाटी–
काठमाडौं, बैशाख ८ गते ।
नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले अहिलेसम्मकै सर्वाधिक रन बनाएको छ ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित टीयू मैदान टस हारेर ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको ६३ रनको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
Sponsored