मानवता गिज्याउने जनकपुरको दृश्य : ७० वर्षे वृद्ध जब पत्नीलाई झोलुंगोमै बोकेर अस्पताल पुर्याउन बाध्य भए
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
झट्ट हेर्दा यो तस्वीरको दृश्य हिमाल पहाडको कुनै बिकट ठाउँको जस्तो देखिन्छ । यस्तो अवस्था हिमाल पहाडका विकट ठाउँमा अझै पनि छ । तर यो दृश्य मधेश प्रदेशकै राजधानी जनकपुरधामकै हो भन्यो भने पत्यारिलो नलाग्न सक्छ । यधपी यो दृश्य जनकपुरधामकै प्रादेशिक अस्पताल परिसरकै हो । जहाँ एक वृद्ध र एक र एक नवजवान जस्तो देखिने पुरुष झोलुंगोमा एकजना बिरामी बोकेर अस्पतालको इमरर्जेन्सी कक्षतिर जाँदै छन् ।
यो दृश्य मंगलबार राति १२ बजेको हो । जहाँ सुगमन स्थल छ । सयौं एम्बुलेन्स, हजारौं सवारीसाधन गुड्छन् त्यो ठाउँमा यो दृश्य बिरलै देखिन्छ । त्यसैले होला यो दृश्य समाजिक संजालमा यतिबेला भाइरल भइरहेको छ । सरकारी संयन्त्र, सरोकारवाला र सिंगै जनकपुरको मानवतालाई गिज्यानु अस्वभाविक होइन ।
स्वास्थ्यमा उपचारको लागि सोमबार धनुषाको जनकनन्दनी गाउँपालिका ४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी पति रामअशिष मण्डलसंग रेल चढेर जनकपुर आइपुगिन् । सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा रहेको पत्तै पाइनन् । जनकपुर आएपछि बिदा रहेको थाहा पाएपछि मण्डल दम्पति उपचार जनकपुरको केवट कुट्टीमा बास बसे । मंगलबार चेकजाँच र उपचार गराउन भ्याएनन् । मंगलबार पनि केवट कुट्टीमै बास बसे । राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन् । दम फुल्न थाल्यो । पति रामअशिष बेचैन भए । हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्याउन अटो एम्बुलेन्स खोजे । आधा घण्टासम्म छेउछाउमा अटो रिक्सा, बाटोमा हिड्ने एम्बुलेन्स गाडीलाई रोकेर विनती गरे । तर कसैले सुनेनन् । ‘श्रीमतीलाई समयमै अस्पताल अटोटेम्पु, सडकमा भेटिएका गाडी थुप्रैलाई रोकेर विनती गरे । तर कसैले सुनेनन् ’ रामअशिषले दुखेसो पोखे ।
होटेल नवरंगको काम सकेर त्यति बेला कुट्टी पुगे उनका आफन्त पर्ने माधुर मण्डल । उनलाई देखेपछि रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो । कुनै उपाय नदेखेपछि उमेरले ७० पार गरेका पति रामअशिष आफन्त माधुरसंग काँधमा बोकेर अस्पताल पुर्याइदिन सहयोग मागे । माधुर सोझा मान्छे हुन् । नातामा अमिर्ती दिदी पर्ने भएकाले माधुर बोकेरै भएपनि अस्पताल पुर्याउन तयार भए ।
एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे । दुई छेउ कपडा बाँधेर झोलुंगो बनाए । र श्रीमती अमिर्तीलाई झोलुंगोमै राखेर करिब डेढ किलोमिटर जनकपुर प्रादेशिक अस्पताल पुर्याए । समयमै झोल्नामै लगेपछि अमिर्ती बाँच्न सफल भइन् । उनको उपचार अहिले प्रादेशिक अस्पतालको अकास्मिक कक्षको बेड नम्बर १७ मा भइरहेको छ । स्वास्थ्यमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
Sponsored
आफ्नो स्वास्थ्यमा अलि सुधार आएको अमिर्तीले बताइन् । ‘मलाई समयमै अस्पताल नल्याएको भए म बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन् । उनी एकवर्षदेखि मुटु र मधुमेहको बिरामी छन् ।
माधुरले आफूले पनि विनती गर्दा कुनै अटो, एम्बुलेन्स गाडीले नमानेपछिझोलुंगोमै बोकेर अस्पताल पुर्याएको बताए । ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्यौ तर । कसैले अस्पताल पुर्याइदिन मानेनन् । म समयमै पुगेर झोलुंगोमै अस्पताल नपुर्याउँदा दिदीको ज्यानै जान सक्थ्यो ।’ माधुरले भने ।