मधेश प्रदेश : हतियार देखाएर लुटपाट गर्ने ८ जना पक्राउ
टुडेपाटी–
पर्सा, फागुन १ गते ।
प्रहरीले वीरगञ्जमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ।
गत बिहीबार वीरगञ्ज महानगरपालिका ६ स्थित रेल्वे सडकखण्डबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने विजय महतो, वडा नम्बर २ छपकैयाका सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा रहेका छन्।
यस्तै, बाराको कलैया उपमहानगरपालिका २३ बस्ने मुकेश पटेल, परवानीपुर गाउँपालिका–३ बस्ने नबाब हुसेन र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेका छन्। विजय महतो गिरोहको मुखिया रहेको प्रहरी उपरीक्षक शाहले बताए।
गिरोहले वीरगञ्जका विशालकुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो ।
Sponsored
पटवाको अपहरण भएको खबर पाएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले अपहरणमा परेका पटवालाई वीरगञ्ज महानगरपालिका–१५ भिष्वाबाट उद्धार गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
अपहरणकारीहरुले पटवाको साथमा रहेको ६ लाख ५० हजार रुपैयाँसमेत लुटपाट गरेका थिए। अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा गिरोहका आठ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए।
पक्राउ परेकाहरुको भारतमा पनि विभिन्न घटनामा संलग्नता रहेको भन्ने अनुसन्धानको क्रममा खुलेको उनले बताए। उनीहरुको साथबाट प्रहरीले अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल र पाँच राउण्ड गोली, नगद ४ लाख ९५ हजार रुपैयाँ पनि बरामद गरेको छ।
साथै अपहरणमा प्रयोग गरिएको ना १९ प २८०८, ना ६२ प १०० र बीआर १ सीआर २४२५ नम्बरको तीन वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।