महोत्तरीमा बालकलाई बन्धक बनाएर ६ घण्टासम्म निर्घात कुटपिट
टुडेपाटी–
महोत्तरी, माघ २९ गते ।
महोत्तरीमा एक बालकलाई बन्धक बनाई निर्घात कुटपिट गरिएको छ ।
जिल्लाको बर्दिबास नगरपालिका १२ बस्ने १४ बर्षीय इन्द्रजित कुमार महतोलाई खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले ६ घण्टा निर्ममतापुर्वक कुटपिट गरेका हुन् ।
पीडित परिवारकाअनुसार स्थानीय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरेका थिए ।
उनीहरुको कुटपिटबाट बालकको शरिरभरि चोटपटक लागेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार इन्द्रजितलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै सन्जित महतोको घरमा पुर्याएर ६ घण्टासम्म यातना दिएका थिए ।
Sponsored
माघ २३ मा भएको उक्त घटना खुलेको हो ।
‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे । खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे’ इन्द्रजितले भने ।
सो घटनापछि इन्द्रिजितकी आमा कोशिला देविलाई समेत घरमा आएर ती युवाहरुले अभद्र व्यवहार गरेको आरोप छ । कुटपिट गर्ने युवाहरुलाई कडा कारवाही गर्न इन्द्रजितको परिवारले माग गरेको छ ।
यता घटनाको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएपनि प्रहरीले वास्ता नगरेको उनीहरुको आरोप छ ।
हात्तिलेट प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएपनि पीडित जाहेरी दिन नआएको बताए । तर पीडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेको छ ।
यता प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताए ।