श्रीमतीले गरिन श्रीमानको हत्या, पाँच वर्षपछि कंकाल फेला
टुडेपाटी-
काठमाडौं, माघ १८ गते ।
प्रहरीले जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको कंकाल पाँच वर्षपछि फेला पारेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शौचालयको खाडलमा कंकाल फेला पारेको हो।
जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
Sponsored
कालेको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा शव पुरेका थिए।
माघ १७ गते प्रहरीलाई यो विषयमा गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो।
खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।
घटनाको बारेमा आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।