मधेश प्रदेश : ९ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद
टुडेपाटी–
जनकपुरधाम, माघ ११ गते ।
चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले ९ करोडभन्दा बढीको सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ९ करोड ३ लाख ३८ हजार ६२२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीले यस अवधिमा २९ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीले ८ वटै जिल्लाबाट भन्सार छली गरेर ल्याएको ३ करोड ८७ लाख ६४ हजार ८२ रुपैयाँ बराबरको किराना सामग्री, ४८ लाख ५९ हजार २६३ रुपैयाँ बराबरको विद्युतीय सामग्री, २ करोड ८५ लाख ५६ हजार ५६३ रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा बरामद गरेको छ ।
यस्तै, लत्ता कपडा, फेन्सी तथा अन्य सामान १ करोड ८१ लख ५८ हजार ७१४ रुपैयाँ बराबरको बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
Sponsored