सप्तरीमा छुट्टा छुट्टै स्थानमा आगलागी हुँदा दुई घर जलेर नष्ट, १३ वटा पशु चौपाया जलेर मरे
टुडेपाटी–
सप्तरी, माघ ६ गते ।
सप्तरीमा छुट्टा छुट्टै स्थानमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । यस्तै, आगलागीमा परेर १३ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
सप्तरीको रुपनी र तिरहुत गाउँपालिकाका बिहीबार राति र शुक्रबार बिहान आगलागी हुँदा दुई घर जलेका छन् भने १३ वटा पशु चौपाया मरेका छन् ।
शुक्रबार बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण र ओमनारायणको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
आगलागीमा हरेरामको गोठमा रहेको दुइटा खसी, दुइटा पाडी र एउटा बाख्राको जलेर मृत्यु भएको थियो ।
बिहान डेढ बजे लागेको आगो राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान पौने चारबजे नियन्त्रणमा लिइएको काफ्लेले जनाए । सो आगलागीमा घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
Sponsored
यस्तै, बिहीबार राति रुपनी १ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाको गोठ नजिकबाट सुरु भएको आगलागीले उनको चारवटा खसी र चारवटा बाख्रा जलेर नष्ट भएको छ । शम्भुनाथ नगरपालिकाको वारुणयन्त्र र स्थानीय र सुरक्षाकर्मीको सहयोगमा राति ११ बजे आगो नियन्त्रणमा लिइएको थियो ।