मासुको चोक्टाको लागि जनकपुरका दुई वडाध्यक्षबीच कुटाकुट
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १५ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा मासुको चोक्टाका लागि दुई वडाध्यक्षबीच कुटाकुट भएको छ ।
जनकपुरधाम ८ का वडाध्यक्ष दिनेश सिंहले वडा नम्बर ५ का वडाध्यक्ष बेचन साहमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।
सिंहले नेकपा एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा वडाध्यक्ष साहमाथि कुटपिट गरेको आरोप लगाइएको हो ।
मंगलबार नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा जनकपुरधामको १५ वटा वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूसँग आयोजित चुनावी छलफलमा खानपिनको समेत व्यवस्था थियो । खानेक्रममा मासु कम दिएको विषयमा विवाद हुँदा वडानम्बर ८ का वडाध्यक्ष दिनेश सिंह र वडानम्बर १ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका लव अधिकारीले एमालेबाटै निर्वाचित वडानम्बर ५ का वडाध्यक्ष बेचन साहलाई कुटपिट गरेका छन् ।
जनकपुरधामस्थित एमालेको क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि आयोजित बैठकपश्चात खानपिनको क्रममा विवाद भएको थियो । सोही क्रममा वडाध्यक्ष सिंहले लवलाई निर्देशन दिँदै अर्का वडाध्यक्ष साहमाथि एक्कासी हातपात गर्न लगाएको बैठकमा सहभागी नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका एक उम्मेदवारले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
Sponsored
घाइते वडाध्यक्ष साह प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएपश्चात घर फर्केका छन् ।
यस सम्बन्धमा बुझ्नका लागि अर्का वडाध्यक्ष सिंहलाई पटक पटक फोन गरेपनि उनले फोन रिसिभ गरेनन् ।