हरिवनमा डेंगु बढेपछि लामखुट्टे नष्ट अभियान सुरु
टुडेपाटी–
सर्लाही, असोज २६ गते ।
सर्लाहीको हनिवन नगर क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरेको छ।
लामखुट्टे रहन सक्ने बजार क्षेत्रका सम्भावित ठाउँमा हरिवन नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर (सर्च एण्ड डिस्ट्रोए) अभियान सुरु गरेको हो।
हरिवन नगर क्षेत्रमा अहिलेसम्म करिब ४० जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण नगरी घरमै ज्वरोको औषधि खाएर बस्ने बिरामीको संख्या सयौँ छ।
नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले डेंगु संक्रमण तीव्र बन्दै गएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरिएको जानकारी दिए।
‘सर्च एण्ड डिस्ट्रोए’ अभियान अन्तर्गत डेंगु सार्ने लामखुट्टे नष्ट गर्न औषधि स्प्रे सुरु गरिएको उनले भने ।
Sponsored
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले मंगलबार हरिवन बजार क्षेत्रमा औषधि स्प्रे गर्दै अभियानको सुरुवात गरेका छन्। पहिलो चरणमा डेंगुको उच्च जोखिम रहेको हरिवन, नयाँरोडसहितका बजार क्षेत्रलाई प्राथमिकतामा राखेर औषधि छर्कने मेयर बुढाथोकीले बताए।