धनुषा १ मा किशोरी र ४ मा कृष्णा आफ्नो स्वतन्त्र उम्मेदवार भन्दै प्रभु साहले भ्रम फैलाए
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
चुनवाको दिन नेकपा एमालेबाट विद्रोह गरेका प्रभु साह प्रतिनिधिसभा तथा प्रदेश सभामा संगठित रुपमा आफूसहित २५ जनाको उम्मेदवारी परेको दावी गर्दै आएका छन् । आफ्नो दावी गर्दै विभिन्न मिडियामा पनि उनले नामावली सार्वजनिक गरेका छन् । तर उनले आफ्नो दावी गरेका धनुषाका दुईजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार उनको नरहेको खुलेको छ ।
धनुषाको क्षेत्र नं. १ मा जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमल र धनुषा क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएका हास्य कलाकार कृष्णकुमार महतो प्रभु साहको उम्मेदार नरहेको खुलेको हो ।
धनुषा क्षेत्र नं. १ मा एमालेबाट विद्रोह गरेका किशोरी साह जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । धनुषा १ (क) का प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद समेत रहेका साहलाई एमालेले टिकट नदिएपछि उनी विद्रोह गर्दै जनमत पार्टीमा प्रवेश गरी उम्मेदवारी दिएका हुन् । उनले आफू प्रभु साहको गुटबाट उम्मेदवार नरहेको र यो विषयमा प्रभु साहसंग कुनै कुरा समेत नभएको स्पष्ट पारे ।
‘म प्रभु साहको उम्मेदवार होइन । नत म उहाँसंगै एमालेबाट विद्रोह गरेको हुँ । मेरो जित्ने अवस्थामा मेरो संघ र प्रदेश दुबैको टिकट खोसेपछि एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेको हुँ ।’ उनले भने । उनी सो क्षेत्रका पक्कड भएका उम्मेदवार मानिन्छन् ।
यस्तै धनुषा क्षेत्र नं.४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हास्य कलाकार कृष्ण महतोले आफ्नो विषयमा प्रभु साह गलत दुस्प्रचार गरेको भन्दै खेद प्रकट गरेका छन् । उनले आफू कुनै संगठन र व्यक्तिको उक्साहटमा नभएर जनताको चाहना अनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
‘म कहिल्यै कुनै दलको झण्डा बोकिन । कलाकार मान्छे हुँ । जनताको चाहना अनुसार मैले आफ्नो उम्मेदवारी दिएको हुँ । प्रभु साह वा उनका कुनै मान्छेसंग यो विषयमा कुरा भएको छैन’ उनले भने ‘तर, प्रभु साहले एमालेबाट विद्रोह गरेको आफ्नो गुटको उम्मेदवार भनेर मेरो विषयमा दुस्प्रचार गर्दा मतदातामा भ्रम फिजिएको छ । म तनावमा परेको छु । गलत प्रचारको घोर भत्र्सना गर्द छु । म विशुद्ध रुपमा स्वतन्त्र उम्मेदवार हुँ ।’ कृष्णा यस क्षेत्रका प्रभावशाली स्वतन्त्र उम्मेदवार हुन् ।
यी दुई उम्मेदवारको विषयमा बुझ्न खोज्दा साहले फोन उठाएनन् । उनका मुख्य सहयोगी आइटी आर्मीका संयोजक चन्द्रभुषण साहले पनि सञ्चारकर्मीलाई प्रभु साहसहितका आफ्नो संगठित स्वतन्त्र उम्मेदवारको लिस्ट सञ्चारकर्मीहरुलाई पठाएका छन् । तर, उनलाई दुई उम्मेदवारको विषयमा जिज्ञासा राख्दा अफू भिडभाडमा रहेको भन्दै कुरा गर्न मानेन् । पछि कुरा गरौंला भनेका उनले अब फोन सम्पर्कमै आउन चाहेका छैनन् ।
Sponsored