धनुषा क्षेत्र नं. २ : कसको पल्ला भारी ?
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
दुबै गठबन्धनमा दलहरुबीच भागवण्डा नमिल्दा दलहरुको अलग अलग उम्मेदवारीले धनुषा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । सत्तारुढ गठबन्धन घटक नेपाली काँग्रेसबाट रामकृष्ण यादव उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै विपक्षी एमाले–जसपा गठबन्धन घटक जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान सांसद उमाशंकर अरगरियालाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनमा काँग्रेसले रामकृष्ण र एकीकृत समाजवादीले रामचन्द्रका लागि सो क्षेत्र नछाड्ने दावी गरेको थियो । अन्ततः सो सो क्षेत्र काँग्रेसको भागमा र दुई प्रदेशसभा मध्ये (क) लोसपा र (ख) माओवादीको भागमा पर्यो । सोही अनुसार उम्मेदवारी पनि पर्यो । तर, एकीकृत समाजवादीका रामचन्द्रले पार्टीबाट छुट्टै उम्मेदवारी दिए । रामकृष्ण अहिले पनि एकीकृत समाजवादी बाहेक सत्ता गठबन्धनकै उम्मेदवार हुन् । उनलाई यो क्षेत्रमा माओवादी केन्द्र र लोसपाको साथ छ । रामचन्द्र अन्य दलजस्तै गठबन्धनसंग प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य योगकुमार बरबरिया बताउँछन् । उनले काँग्रेस, माओवादी केन्द्र र लोसपाको गठबन्धन यस क्षेत्रमा कायमै रहेको बताए ।
रामचन्द्र र रामकृष्ण दुबैजना संविधानसभा सदस्य एवं पूर्व मन्त्री समेत हुन् । रामचन्द्र सो क्षेत्रका पुराना बाम नेता मानिन्छ ।
पाँच दलीय गठबन्धनमा जसपा हुँदा पनि सो क्षेत्रको दावी छाडेको थिएन । जसपा सत्ता गठबन्धन छाडेर एमालेसंग चुनावी तालमेल गर्दा पनि सो क्षेत्रको विषयमा कुरा मिलेन । अन्ततः विपक्षी गठबन्धन जसपा र एमाले आ आफ्नै उम्मेदवार उठाएर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरे । विपक्षी गठबन्धनमा एमाले र जसपाबीच यो क्षेत्रमा तालमेल नमिल्नुको कारण अलि रोचक छ । यस क्षेत्रका प्रत्यक्ष निर्वाचित लोसपाका निवर्तमान सांसद उमाशंकरलाई एमाले अध्यक्ष केपी शर्मा ओली टिकट दिने प्रतिवद्धतासहित गत असोज ८ गते पार्टीमा भित्र्याएका थिए । उमाशंकरको प्रवेशले आफूले टिकट नपाउने सम्भावना देखेपछि एमालेका पुराना प्रभावशाली नेता गंगाराम यादव पार्टी छाडे । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले जसरी पनि टिकट दिने प्रतिवद्धतासहित पार्टीमा स्वागत गरे । यस कारण विपक्षी गठबन्धनमा पनि यो क्षेत्रमा तालमेल भएन । दुबैका उम्मेदवार आमने सामने बन्न पुगे । जसपाले यो क्षेत्र पहिलादेखि नछाड्नुको मूल कारण थियो धनुषाको चार वटा क्षेत्र मध्ये २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सहित दुबै प्रदेश सभा क्षेत्र जित्नु ।
यो क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमबाट उमाशंकरले चुनाव जितेका थिए । अरगरिया ठूलो मतान्तरले बाम गठबबन्धन घटक माओवादी केन्द्रका उम्मेदवार रामचन्द्रलाई पराजित गर्दै जित निकालेका थिए । उनले ३२ हजार ४४ मत ल्याउँदा रामचन्द्रले १८ हजार ७१५ मतमा सिमित भएका थिए । तेस्रोमा कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।
जसपा विभाजनको संघारमा अरगरिया मन्त्री पदका लागि उपेन्द्रलाई छाडेर महन्थ ठाकुरको खेमामा लागे । पछि पार्टी विभाजन गरेर महन्थ ठाकुर नेतृत्वमा लोसपा बनेपछि उनलाई प्रमुख सचेतक बनाइयो । अगामी मंसिर ४ मा सो क्षेत्र लोसपाबाट जित्ने आधार नदेखेपछि चुनावको मुखमा गत असोज ८ गते उनी एमाले प्रवेश गरे । यस कारण जसरी पनि जसपाले यो क्षेत्र फेरि जित्ने दाउमा छ । यो क्षेत्र चार दलका लागि जित्नु प्रतिष्ठाको विषय बनेको छ । तीन पुराना प्रतिस्पर्धीको बीचमा टक्कर दिने एक नयाँ प्रतिस्पर्धी गंगाराम चुनावी मैदानमा उत्रेका छन् । यसले यो क्षेत्रको चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ ।
Sponsored
धनुषा–२ मा ७ पालिकाका ४४ वडा पर्छ । कमला नगरपालिकाका ९, सहिदनगर नगरपालिकाका ९, जनकनन्दनी गाउँपालिकाका ६ र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छ । त्यसैगरि विदेह नगरपालिकाका १ देखि ८, हंसपुर नगरपालिकाकाको वडा नम्बर १, ४, ६, ९ र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ र १८ यो क्षत्रमा पर्छ ।
गत स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने दलगत हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । कमला नगरपालिका र हंसपुर नगरपालिकामा कांग्रेसले, विदेह नगरपालिका र औरही गाँपालिका एमालेले, सहिदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिका जसपाले जितेको छ । ४४ वडा पर्ने यो क्षेत्रको १९ वटा वडा एकलै काँग्रेसले हात पारेको छ ।
गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा पर्ने ४४ वटै वडामा डाध्यक्षका उम्मेदवारहरुले पाएको मत जोड्ने हो भने पनि बलियो काँग्रेस नै छ । काँग्रेसले २१ हजार २३२ मत पाएको छ । दोश्रोमा जसपाले १३ हजार ८८९, तेश्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौ स्थानमा समाजवादीले ८ हजर ९९७ मत, छैठौ स्थनानमा ६ हजार ७१३ र सातौं स्थानमा जनमत पार्टीले ४ हजार २८३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
गठबन्धन र स्थानीय तहमा पाएको मतलाई आधारमा मान्ने हो भने रामकृष्ण अन्य भन्दा शक्तिशाली उम्मेदवारका रुपमा देखिन्छन् । उनलाई जित निकाल्न सहज देखिन्छ । रामकृष्णले सबभन्दा ठूलो जितको आधार यसैलाई मान्छन् ।
‘क्षेत्रमा शिक्षा, सडक, स्वास्थ्य, गरिवीको समस्या छ । विकास अवरुद्ध छ । विगतमा जितेका प्रतिनिधीले खासै मतलब गरेनन् । जनताको सकमस्या हाउसमा राख्नु भएन । यी कामहरु गर्न म सक्षम छु । विगतको चुनावी नतिजाले पनि काँग्रेस बलियो छ । मेरो जित्ने प्रवल आधारहरु यहि हो ।’ उनले भने ।
गठबन्धन र आफ्नै पार्टीले अन्तरघात गरेको खण्डमा उनलाई जित्न चुनौती हुने विश्लेषण पनि भइरहेको छ ।
एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र भने स्थानीय तह निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने तर्क गर्छन् । जनताको समर्थन नै आफ्नो जितको प्रमुख आधार रहेको झाको बताउँछन् । ‘धेरै उम्मेदवारका बीचमा म निसकलंक छु । यो क्षेत्रको विकास निर्माणमा मेरो ठूलो योगदान छ । विकास निर्माणका धेरै काम गरेको छु । जनताका कुरा राख्दै आएको नाम हो रामचन्द्र । यी कुराहरु नै मेरो जित्ने आधार हो‘ उनले भने । २०४६ सालको आन्लोलनदेखि हरेक लोकतान्त्रिक आन्दोलनमा आफूले महत्वपुर्ण भूमिका खेलेकोले पनि यस क्षेत्रका जनताले त्यसको मूल्यांकन गर्ने बताए । २०६४ को पहिलो संविधानसभामा एमालेबाट जितेका झा निरन्तर दुईवटा निर्वाचनमा पराजित भए ।
यस क्षेत्रका निवर्तमान सांसद एमालेका उम्मेदवार उमाशंकर ५ वर्षमा यस क्षेत्रमा गरेको काम नै आफ्नो जित्ने आधार भएको बताउँछन् । ‘४० वर्षसम्म नभएका काम मैले यो पाँच वर्षे कार्यकालमा गरेको छु । संसदीय बजेटबाट एक रुपैँया कमिसन लिइन । इमान्दारिताका साथ काम गरेको छु । भ्रष्टाचार विरुद्धको आन्दोलनबाट म आएको हो त्यो शिलशिला अझै जारी छ । यो क्षेत्रमा मेरो छुट्टै क्रेज छ ।,’ उनले भने । लोसपाबाट आफू एमालेमा आउँदा पार्टीमा प्रवेशको लहर चलेको र अरु दल त्यागेर हजारौँ नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाले चुनाव जित्ने उनको दावी छ ।
एमाले परित्याग गरि चुनाव लड्न जसपा प्रवेश गरेका गंगाराम यो क्षेत्रका प्रभावशाली व्यक्तित्व मानिन्छन् । विगतमा यो क्षेत्रमा गरेको काम, जनतासंग सुखदुखम साथ, स्वच्छ छवि लगायतका आधारमा उनले आफू जित्ने दावी गर्छन् ।