मधेश प्रदेश : ठूलो मात्रामा नक्कली नोटसहित तीनजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
बाराबाट ठूलो परिणाममा नक्कली नोट सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया रहेका छन् ।
उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज २१ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ –५ कनकपुर टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
सुरुमा प्रहरीले रञ्जितले कम्मर पेटीको भागमा लुकाएर ल्याएको नेपाली १ हजार दरका नोटको १ ठेली र उसले चलाएर आएको मोटर साइकलको सिट मुनीबाट ८ ठेली गरी ९ ठेली नक्कली जस्तो देखिने ९ लाख नोट फेला पारेको थियो ।
उनीहरु नक्कली नोटको कारोबारी गिरोह नै हुन सक्ने प्रहरीको आशंका छ । उनीहरुमाथि गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
Sponsored