सर्लाहीमा हतियार देखाएर दिन दहाडै ८ लाखभन्दा बढी रकम लुटेर चारजना फरार
टुडेपाटी–
सर्लाही, भदौ १० गते ।
सर्लाहीमा बजार क्षेत्रमा दिनदहाडै डकैती भएको छ । नकाबधारी समुहले हतियार देखाएर शुक्रवार विहान ८ लाखभन्दा बढी रकम लुटेका छन् ।
चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले जिल्लाको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो ।
आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लुटेराको समूहले लगेको छ ।
बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।
लुटपाट भएको ठाउँबाट दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ ।
Sponsored
यता प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।