कोसी पलारबाट सशस्त्र प्रहरीद्वारा १ लाख बढीको विद्युतीय सामान बरामद
शुभनारायण यादव-
सप्तरी, भदौ १० गते ।
पछिल्लोपटक सप्तरीको विभिन्न सीमावर्ती नाकाहरुमा खटिएका सशस्त्र प्रहरीको सक्रियताले धमाधम अवैध समानहरु बरामद हुन थालेको छ । सोही क्रममा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ डलवास्थित कोशी पलारबाट सशस्त्र प्रहरीले लाखौंको अवैध विद्युतीय समानहरु बरामद गरेको हो ।
सशस्त्र प्रहरी वीओपी तिलाठीबाट खटिएको टोलीले झण्डै १ लाख ३७ हजार ९२० रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । वीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली डुङ्गामा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा डीबी बक्स ८ कार्टुन, स्वीच ३४० पिस र पावर सकेट ४९० पिस गरी कुल १ लाख ३७ हजार २८८ रुपैयाँको सामान बरामद गरेको उनले बताए ।
यता तस्करहरुले सशस्त्र प्रहरीलाई हरेपछि सामान छाडेर डुङ्गासहित भारततर्फ भागेको तथा तस्करहरुको खोजी कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध सामान आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लोपटक सप्तरीको कोशी पलारबाट जनप्रतिनिधिहरुकै मिलोमतो तथा सरक्षणमा तस्करी फष्टाएको स्थानीय बताउँछन् ।
Sponsored