सर्लाहीमा भूमिहीनलाई जग्गा दिने प्रक्रिया अन्तिम चरणमा
टुडेपाटी–
सर्लाही, भदौ ६ गते ।
सर्लाहीमा भूमिहिनहरुलाई जग्गा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको दुई पालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । सर्लाहीमा आठवटा पालिकामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सर्लाहीले काम गरिरहेको छ ।
पहिलो चरणमा लालबन्दी र वाग्मती नगरपालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरणको तयारी थालेको हो ।
आयोगले जिल्लाको वाग्मती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, कविलासी नगरपालिका र चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको छ ।
पहिलो चरणमा वाग्मती नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ४ हजार ३ सय ७८ जनालाई ८ हजार ७ सय ५७ कित्ता जग्गा नापजाँच गरी वितरणको अन्तिम तयारीमा रहेको आयोगले जनाएको छ ।
Sponsored
वाग्मतीमा भूमिहीनहरूका लागि १० धुरदेखि १ कट्ठासम्मको घडेरी र ५ कट्ठा खेतीयोग्य जग्गा प्रदान गरिनेछ ।
यस्तै लालबन्दी नगरपालिकामा ३ सय ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई प्रतिव्यक्ति करिब १ कट्ठाका दरले वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता मदनबहादुर विश्वकर्माले जानकारी दिए ।
फाइल फोटो