मतदाता नामावलीमा नाम समावेश गर्न समय थप्न दलित सरोकार मञ्चको माग
टुडेपाटी–
जनकपुरधाम, साउन १७ गते ।
मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न समय थप्नुपर्ने दलित सरोकार मञ्चले माग गरेको छ ।
मञ्चले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै समय थप गर्न माग गरेको हो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाका जिल्ला अध्यक्ष कुलदीप दासले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि निर्वाचनसम्बन्धी कानुन सबै दल, उम्मेदवार तथा मतदातालाई समान तथा न्यायोचित हुनुपर्ने र सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर दिइनुपर्ने भन्दै नाम छुटेकाहरुको नाम समावेश गर्न समय थप गर्नुपर्ने माग गरे ।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष दासले सरकारले अझै पनि सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने वातावरण सिर्जना गर्न नसकेको आरोप लगाए ।
उनले निर्वाचन कार्यालयमा पनि पहुँचको आधारमा नाम दर्ता गर्ने काम भएको र वडाअध्यक्ष, पालिका प्रमुखहरुले कर्मचारीसँगको मिलोमतोमा आ–आफ्ना मान्छेको नाम मात्र दर्ता गराउन लगाएको आरोप लगाए ।
Sponsored
स्थानीय तहको निर्वाचन पश्चात १ असारदेखि पुनः निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत नामावली संकलन गर्ने काम सुरु भए पनि त्यही समयमा खेतीपातीको काम सुरु भएकोले महिला र गरिव दलितहरु खेतीपातीमा लाग्दा नाम दर्ता गराउनबाट वञ्चित भएको दासले बताए ।