सप्तरीको छिन्नमस्तामा निःशुल्क आँखा शिविरबाट ३५१ बिरामीको उपचार
शुभनारायण यादव-
सप्तरी, साउन १६ गते ।
सप्तरीमा एक दिने निःशुल्क आँखा शिविरबाट सयौं जना आँखाका बिरामीले लाभ पाएका छन् । धर्मी हल्फा महिला विकास क्लब सप्तरीद्वारा संचालित शिविरबाट सप्तरीसहित छिमेकी मुलुक भारतका समेत गरी सयौं जना बिरामी लाभान्वित भएका हुन् ।
उक्त शिबिरमा ३५१ जना आँखाका बिरामीहरूको चेकजाँच र शिविरमा पहिचान भएका ११३ जना मोतियाबिन्द बिरामीहरुको निःशुल्क अपरेशन लहानमा गरिने आयोजक संस्थाका अध्यक्ष एव समाजसेवी ई. सूर्यनारायण यादवले जानकारी दिए ।
अन्धोपन निवारणको लागि एउटा सानो पहल र प्रयास स्वरुप ८ औं पटक १ दिने निःशुल्क आँखा शिविर सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित मावि सखडामा आयोजना गरेको थियो । सगरमाथा चौधरी आँखा अस्पताल लहानका डाक्टरहरूद्वारा छिन्नमस्ता सखडामा शिविर संचालन गरेका थिए ।
सगरमाथा चौधरी आँखा अस्पताल लहान र छिन्नमस्ता गाउँपालिकाको समन्वयमा संचालित सो स्वास्थ्य शिविरमा छिन्नमस्ता गाउँपालिकाका विभिन्न वडाका साथै छिमेकी भारत र बिष्णुपुर गाउँपालिकाबाट समेत बिरामीहरुले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
Sponsored