सर्लाहीमा जुवाको खालबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ
टुडेपाटी-
सर्लाही, साउन १६ गते ।
सर्लाहीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार अबेर साँझ सर्लाहीको बागमती नगरपालिका–३ धरहराबाट पक्राउ परेका ७ जनामध्ये एकजना महिला पनि पक्राउ परेकी छन् ।
बागतीको धरहरास्थित घिसिङ होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी गरी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार जुवा खालबाट प्रहरीले २ लाख १४ हजार ९ सय ७० रुपैयाँसहित १६ थान कौडा र १ बुक तास पनि बरामद गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बागमती नगरपालिका–३ की ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, वर्ष ३२ का प्रेम बहादुर वाइबा रहेका छन् । यस्तै, हरिवन नगरपालिका–११ का ३४ वर्षीय मणिलाल बोम्जन, ४२ वर्षका मनोज कुमार थिङ, ४५ वर्षका जगत स्याङतान र वर्ष ४१ का पनोज कुमार थिङलाई नियन्त्रणमा लिइएको डीएसपी यादवले बताए ।
विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र पक्राउ परेका जुवाडेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही महिनाअघि मात्र धरहराबाट प्रहरीले ४ लाखभन्दा बढी रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको थियो । यस क्षेत्रमा सेटिङमै जुवा खेलाउने काम चल्दै आएको स्थानीयको भनाइ छ ।
Sponsored