धनुषामा बजार अनुगमनको सूचना सम्बन्धित निकायबाटै लिक, टोलि पुग्नु अघि नै व्यवसायी भागाभाग
टुडेपाटी-
जनकपुरधाम, साउन १३ गते ।
धनुषाको शहिदनगर नगरपालिका स्थित यदुकुहा बजारमा अनुगमन पूर्वनै सूचना लिक भएको छ ।
सम्बन्धित निकायबाटै सूचना लिक भएपछि अनुगमन समिति निराश भएर रित्तो हात फर्केको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा दिउँसो यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार सुनसान देखेपछि अनुगमन टोली छक्क परेको थियो । अनुगमन टोली संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय प्रमुख किरण कुमार मिश्रका अनुसार अनुगमन टोली पुग्नु भन्दा पहिला नै व्यापारी तथा व्यवसायीहरु आ आफना सटर झारेर फरार भएका थिए ।
बजार अनुगमनको क्रममा हुन सक्ने उच्श्रृङखल घटनालाई ध्यानमा राखेर अनुगमनमा जानु भन्दा करिव १ घण्टा पहिला नै इलाका प्रहरी कार्यालय, यदुकुहामा शान्ति सुरक्षाको व्यवस्था गर्न जानकारी गराइएको थियो, अनुगमन टोली संयोजक मिश्रले भने–अनुगमन सम्बन्धी गोप्य जानकारी प्रहरीबाट लिक भएको हुन सक्छ । यस सम्बन्धमा श्रीमान् प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गरिने उनले बताए ।
अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख देवेन्द्र कुमार झाले बजार अनुगमन सम्बन्धी गोप्त सूचना लिक गरेर अनुगमन समितिलाई असहयोग गर्नु निन्दनीय भएको उल्लेख गरे । बजार अनुगमनमा प्रहरी प्रशासनको पनि महत्वपुर्ण सहयोग आवश्यक छ, घरेलु कार्यालय प्रमुख झाले भने–यस सम्बन्धमा छानबिन गरी असहयोग गर्ने माथि कारवाही हुनुपर्छ ।
Sponsored
इलाका प्रहरी कार्यालय, यदुकुहाका एक जना प्रहरीले अनुगमन टोली आउनु भन्दा पहिला सम्पुर्ण व्यापारी तथा व्यवसायीहरुलाई अनुगमन सम्बन्धी जानकारी गराएको उल्लेख गरे । मोटरसाइकल चढेर आएका एक जना प्रहरीले केही व्यापारी तथा व्यवासायहरुलाई बजार अनुगमन सम्बन्धी जानकारी गराएको थियो उनले भने–केही समय पछि त सम्पुर्ण पसलहरु धमाधम बन्द हुन थाल्यो । इलाका प्रहरी कार्यालय, यदुकुहाबाट अनुगमनमा सहभागी प्रहरीले आरोपलाई अस्वीकार गरेको छ ।
यता घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहले अनुगमन टोलीलाई देखेर भाग्नु पर्ने आवश्यकता नरहेको बताए । बजार अनुगमन व्यपारी तथा व्यवसायहीहरुकै हितको लागि गर्ने गरिएको छ, उनले भने–अनुगमनको क्रममा व्यवासय दर्ताबाट हुने फाईदा, दर्ता प्रक्रिया, नवीकरण, भ्याट बिल, राजस्व लगायतको सम्बन्धमा जानकारी गराउने गरिएकाले सटर झारेर झाग्नुको कुनै अर्थ छैन ।
यदुकुहाको सम्पुर्ण व्यापारी तथा व्यवसायीहरु सटर झारेर फरार भएपनि तत्काल संचालनमै रहेको बाबा आईसक्रिम बेकरी तथा डेरी उद्योग, यदुकुहा लाईन होटल र स्टार होटलमा अनुगमन गरी देखिएका कमीकमजोरीहरुलाई तत्कालै सुधार गर्न निर्देशन दिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले जनाए ।
जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा गएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका साथै खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर उद्योग वाणिज्य संघ, स्थानिय प्रहरी, संचारकर्मी लगायतको सहभागिता थियो ।