TodayPati

जिवनको तेश्रो लकडाउन सम्झिदा लाग्छ ‘हम नहि सुधरेंगे’ (विचार)

गायत्री मिश्र (पत्रकार)

कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएपछि विश्वका अधिकांस भु–भागका जनता लकडाउनको अर्थात् बन्दाबन्दी अवस्थामा छ ।
साधारण अर्थमा भन्नु पर्दा सरकारले अत्यावश्यक काम बाहेक घर भित्रै बस्न आग्रह गरेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गत्ते देखि पटक पटक लकडाउनको म्याद थप गरिएको छ ।

कोरोना संक्रमणले भयावह रुप लिदै गएपछि छिमेकी मुलुक भारतले जसरी लकडाउन लम्ब्याउँदै गयो नेपालले पनि सोही अनुसार म्याद थप गरिरहेको छ । तेस्रो पटकको लकडाउनमा नेपाली बन्दी सरह जीवन बिताईरहेका छन् भन्नु गलत नहोला तर यो बन्दी जीवन पनि हाम्रै लागि त हो, होइन र ? भाइरसबाट जोगिन कोरोना भाइरस संक्रमण तेस्रो चरणमा प्रवेश नगरोस भनि हामी अहिले बन्दी जीवन यापन गर्न विवश छौं ।
शब्दकोशमा पहिलेदेखि रहेको भए पनि ‘बन्द’ अभिव्यक्तिको अर्थ यातायात एवं कारोबार स्थगन हुन्छ भन्ने मान्यता सन् १९९० को जनआन्दोलनबाट स्थापित भयो । तर सरकारको तर्फ बाट यसरी बजार,व्यवशाय,यातायात देखि हवाई उडान सम्म बन्द भएको सम्भवतः यो नेपालमा पहिलो पटक नै हो । तर मेरो लागि यो तेस्रो लकडाउन रहेको छ ।

Sponsored

पहिलो लकडाउन
वि. स. २०६४ चैत महिनामै म पहिलो पटक लकडाउनमा परेकी थिए । तर त्यस बखत कुनै भाइरस वा महामारी फैलिएको थिएन । एलर्जीको विरामी भएर घर भित्रै बस्नुपर्ने मेरो बाध्यता थियो । वि स २०६४ फागुन महिनामा होलीको दिन रंग–अबिर खेल्दा मलाई श्वाँस लिन गाह्रो भएको थियो ।

तुरुन्तै मलाई घर देखि लगभग १० मिनेटको दुरीमा रहेको तत्कालिन अञ्चल अस्पतालमा आमा र भाडामा बस्ने एकजना काकीले पैदलै लिएर भर्ना गराएकी थिइन् । अस्पतालका चिकित्सकले एलर्जीका कारण शरिरमा यस्तो संक्रमण देखिएको बताए । आमाले एलर्जी कसरी ठीक हुने प्रशन गर्दा चिकित्सकले जनकपुरधाममा एलर्जीको कुनै चेकजाँच नरहेको बताउँदै बाहिर लैजान सुझाव दिए । २ दिन अस्पतालमा उपचार पछि हामी भारत विहारको राजधानी पटनामा एक एलर्जी क्लिनिकमा एम्बुलेन्स बाटै गयौं । लगभग १५ दिनको बसाँई र उपचार पछि हामी घर फर्कियौं । तर घरमा सहजै बस्ने अनुमती भने थिएन । एलर्जीको भ्याकसिनेशनका कारण घर भित्र ३–४ महिना कैद झैँ जिवन विताउनुपर्ने चिकित्सकको सुझाव थियो ।
भ्याकसिनेशन र चैत–वैशाखको मौसम दुबैलाई हेरी मलाई ३–४ महिना घर भित्रै बस्न चिकित्सकले सल्लाह दिएका थिए ।

त्यसबखत म जनकपुरस्थि रेडियो टुडेमा काम गरेको एक वर्ष र केहि महिना मात्र भएको थियो । यसरी एफ एममा काम गरिरहेकै क्रममा घर भित्र थुनिनु सहज त पक्कै थिएन । न त अहिलेजस्तो सामाजिक सञ्जाल थाहा थियो न इन्टरनेटमा सहज पहुँच थियो । औषधी खानु, सुत्नु र पढ्नु बाहेक कुनै विकल्पै थिएन । टिभि हेरेर पनि मन दिक्क भइसकेको थियो । मेरो पहिलो लकडाउनमा साथीभाई र आफन्तले खुब साथ दिएका थिए । प्रायःकलेजका साथीहरु आइरहन्थे अनि कलेजमा हुने गरेको विभिन्न गतिविधिको बारेमा बताइ रहन्थे । कहिलेकाँही रेडियोका साथीहरु पनि घरमा आएर भेट्ने गर्थे । व्यक्तिलाई आफ्नो स्वास्थ्य कत्तिको आवश्यक छ मैले उपचारको क्रममा थाहा पाएँ । कत्तिको सचेत हुनुपर्दछ र स्वस्थ्य रहन चिकित्सकको सल्लाह मान्नु नै होशियारी हो मैले बुझे ।

Sponsored

दोस्रो लकडाउन

म दोस्रो पटक पनि चैत महिनामै स्वास्थ्यलाई लिएरै जिवनको देस्रो ‘लकडाउन’ मा परे । २०६८ चैत महिनामा म गर्भवती भएको दोस्रो महिना थियो । महिनावारी बन्द भएको डेढ महिना पछि मात्रै गर्भपती छु थाहा पाएँ । हामी श्रीमान श्रीमती छुट्टै घरभाडा लिएर बसिरहेका थियौँ । मलाई गाह्रो हुन थालेपछि म रेडियोबाट विदा लिइसकेको थिएँ । विदा लिएर बस्दा पनि मलाई सञ्चो भएन ।

घरीघरी वाकवाकी लाग्ने, दिनभरि वान्ता भइरहने र जे पनि गन्हाउने गथ्र्यो । खाना पकाउने र मेरो स्याहार गर्ने कोहि न भएपछि श्रीमानले मेरो हजुरआमा (नानी माँ ) लाई आग्रह गरेर हामीकहाँ बोलाउनु भयो तर पनि मलाई सन्चो हुने छाँटकाँट नदेखिएपछि हजुरआमाले मलाई आफु सँगै गाउँ लिएर जानुभयो । गाउँमा माइजुहरु, भाइ, बहिनीसँग रमाइलो हुनथालेपछि मेरो मन बहलिन थालेको थियो ।

तर एक हप्ता नबित्दै एकदिन विहानै म ट्वाईलेटमा जाँदा महिनावारी भएको जस्तै रगत आउन थाल्यो । म बहुत डराएँ । कसैलाई केही भन्न पनि सकिन र सोझै श्रीमान्लाई फोन लगाए र सबथोक एकै श्वाँसमा बताए । वहाँले पनि तुरुन्तै चिकित्सक सँग सल्लाह लिएर मलाई लिन गाँउ आइपुग्नुभयो । गाँउ पनि मोटरसाईकलले मुश्किलले १० मिनेटको बाटो । हामी जनकपुरका एक प्रशिद्ध स्त्री तथा प्रशुती रोग विशेषज्ञ सँग जाँच गरायौं । डाक्टरले रिपोर्टहरु हेरे पछि एउटा सुई लगाए र कुनै पनि काम न गर्न सल्लाह दिए । हामी फेरी गाँउ आयौं । गाँउमा हजुरआमा र माईजुहरुले पक्कै बोक्सीले गरेको होला भनेर विभिन्न कुतर्क हरु गर्न थाले । पछि हामीले डाक्टरले भनेको कुरा बतायौं र बोक्सा बोक्सी केहि हँुदैन भन्यौ तर जत्ति भने पनि कहाँ मान्ने वाला थिए त कोही । कसैको नाम नलिईकन मेरो माईजुहरुले घर अगाडि उभेर आधा घण्टा गाली गर्नुभएको थियो ।

त्यो दिन म ओछ्यानमै पलट्ेको थिए । पटक पटक वान्ता आईरहेकोले हजुरआमाले वान्ता गर्ने भाँडो (कोपरा) मेरो ओछ्यान तल हाल्दिनुभएकी थिइन । त्यस दिन श्रीमान् गाँउमै रुकेका थिए । भोली विहान फेरी उस्तै समस्या देखिएपछि म हतास भएँ । डाक्टरले अब फेरी ब्लिडिगं भयो भने बच्चा हटाउनुपर्छ भन्नुभएको कुरा मेरो मानसपटलमा कोहराम मचाउन थाल्यो । मैलै हत्तपत्ति श्रीमान्लाई जगाँए र तुरुन्तै जनकपुर जान हतार गरे ।

उँहा पनि जनकपुर आउनुभयो तर अब के गर्ने त्यहि डाक्टरको सल्लाहमा अबोर्सन गराउने कि अर्को डाक्टरकोमा जाने विचल्लिमा पर्नुभयो । २–३ जना डाक्टरहरु सँग फोनमै सल्लाह लिएँ । सबैले अर्बोसनको विकल्प नरहेको बताएपछि अर्बोशन गराउनै पर्छ भनेर आफुलाई तयार त गर्नुभयो तर मलाई कन्भिन्स गर्न सक्नुभएन ।
मैले राम्रो डाक्टरकोमा जानुपर्छ जिद गरे । हामी धेरै बेर सम्म त्यही डाक्टरको क्लिनिक अगाडि एकअर्का सँग छलफल गर्यो र जनकपुरका एक सुप्रशिद्ध स्त्री तथा प्रसुती रोग विशेषज्ञ सँग परामर्श जाँच गरायौं डाक्टर साबले मैले भनेको कुराहरु अक्षरसः पालना गर्नुभयो भने मात्र म तपाईको बच्चालाई बचाउन सक्छु भने र मैले हुन्छ भने । एक सातामा एउटा सुई र पुरा बेड रेस्ट गर्न उहाँले सुझाव दिनुभयो ।

त्यसै सुझाव अनुसार मलाई श्रीमान्ले आफ्नो दिदीको घरमा राख्नुभयो जुन कि जनकपुर र बसहियाको बिचमा पर्दछ । एकान्तवासमा ३ महिना लकडाउन । वान्ता न हुने जत्ति औषधी खाए पनि ठीक नहुने तर बेडमा २४ औं घण्टा पल्टे पछि ब्लिडिगं कम हँदै गयो । ३ महिना शहर भन्दा टाँढा,साथीभाई,घरपरिवार भन्दा टाँढा बिताउन गाह्रो । तर ती एकान्तवासमा कहिलेकाँही खुब रमाईलो हुन्थ्यो । शनिबारको दिन भान्जा,भान्जी भिनाजु र म मेरे बेड अगाडी सबैजना लुडो खेल्दा कत्तिखेर दिन बित्थ्यो थाहै नहुने । हो जब सबै जना घरमै भएपछि रमाईलो त गर्नैपर्छ भन्दै भिनाजु आफ्नै बारीको अम्बा,मेवा टिपेर हामीलाई खुवाउने र विभिन्न जोकहरु सुनाउने गर्नुहुन्थ्यो । उँहा खाना खान आएको बेला मलाई जहिले पनि कुनै न कुनै नयाँ जोक सुनाएर जानु हुन्थ्यो । किनकी घरमा टिभी थिएन । म बोर हुन्छु भनेर कहिलेकाँही मेरो हजुरआमा,माईजुहरुलाई फोन गरेर बोलाई दिनु हुन्थ्यो । कहिलेकाँही मेरो जेठानी र उनका बच्चाहरुलाई सँगै लिएर आउने र मलाई सरप्राईज दिनुहुन्थ्यो । यसरी मैले त्यो एकान्तवासमा ३ महिना बिताए तर म मनोरोगी भईन किनकी विशेषज्ञहरुले भन्छन धेरै समय सम्म एकै ठाउँमा बस्दा मान्छेमा विभिन्न मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुन्छ त्यसकारण केहि न केहि नयाँ गर्नुपर्दछ । र मलाई आमाजु र उनको परिवारले ३ महिनको रुम भित्रको लकडाउनलाई पिँजडामा बन्द भएको जस्तो अनुभुति गर्न दिएनन ।

तेस्रो लकडाउन
तेस्रो पटक लकडाउन २०७६ चैत ११ गत्ते देखि सुरु भयो । र यो लकडाउन मेरो व्यक्तिगत कारणले होईन डिसेम्बर अन्त्य तिर चीनकोे उहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको कारणले विश्व नै महामारीको चपेटमा परेपछि चिनको छिमेकी देश नेपालमा चैत ११ गत्ते देखि सुरु भएको हो । यस्तो पनि लकडाउन हुन्छ मैलै कहिले कल्पना गरेकि थिइँन ।

विभिन्न आन्दोलनको समयमा बजार तथा यातायात बन्द गराईएको कैयौं पटक देखेको छु । अधिकार प्राप्तीको लागि २०७२ सालको मधेश आन्दोलनको बखत ६–६ महिनाको बन्दी भोगेका हामी यसरी कुनै महामारीको कारण २१ औं शताब्दीमा पनि बन्दाबन्दीको सामना गर्नुपर्दछ कहिले सोचेके थिइँन ।

क्यान्सर र एड्स जस्तो रोगको उपचार खोजिसकेको विश्वका विकसित देशहरुमा एउटा भाइरसको कारण दैनिक सैयकडोको संख्यामा मान्छेहरुले ज्यान गुमाउँदै छन तर यस भाइरसको औषधी पता लगाउन असक्षम छन् ती देशहरु । विश्वका २१० देशमा यस भाइरसको संक्रमण फेला परेको छ । द्वन्दको पिडा भोगिरहेको
सिरियामा कोरोना भाइरसको संक्रमित फेला परेर २१० वटा देशमा कोरोना संक्रमितको संख्या लाखौं पुगेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । लकडाउन भएको नेपालमा दिनहुँ सयकडौं गाडी र मान्छे लकडाउनको उल्लंघन गरेको पक्रिन्छन । भारत र नेपालको खुल्ला सिमानाका हरु छन । प्रदेश नं २ मा मात्रै ४६४ किलोमिटर खुल्ला सिमाना छ र देशभरका सिमाना सिल गरिए पनि चोरबाटो,गोरेटो ,खेत आलि र महाकाली नदी तरेर दिनहुँ सीमा वारपार गर्नेको संख्यामा कमी आउन सकेको छैन ।

जस कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना भाइरस संक्रमित को प्रत्यक्ष सम्पर्कमा आएको व्यक्तिबाट ती व्यक्ति बाट अर्कोमा र अर्को बाट टोल,गाउँ,नगर,शहर हुँदै देश नै संक्रमित हुने अवस्था आउन सक्छ ज्ञात हुँदहुँदै पनि लापरवाही बढि देखियो ।

लकडाउनको अवधिमा विहान २ घण्टा र साँझमा २ घण्टा बजार खुले पछि एक एक मिटरको दुरीमा बसेर सामान किन्ने व्यक्ति बहुत कम देखियो । जबकि यस टेक्नोलोजीको युगमा प्रायले छोएर सर्ने रोग कोभिड १९ हो बुझे पनि संक्रमण फैलाउने केहि व्यक्ति पनि देखियो । आखिर यो लकडाउन किन र कसको लागि बुझाउन सकिएन कि बुझेर पनि हामि लकडाउनको पालना गर्न सकिरहेका छैनौं यक्ष प्रश्न छ । जहाँ लकडाउनको नियमा पालना गरि किसान बाली भित्र्याउँदै देखिए पनि शहरमा तरकारी किन्न पनि जिउमा जिउ टाँस्सिनै पर्ने बानी भएर हो कि हम नहि सुधरेंगे भएर हो छुट्याउन गाह्रो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *