महोत्तरीबाट ८ जनालाई धनुषाको क्षेत्रीय क्वारेन्टाइनमा पठाइयो
रञ्जन भण्डारी-
महोत्तरी, वैशाख ७ गते ।
महोत्तरीको नाका हुँदै भारत प्रवेश गर्न खोजेका सात भारतीयसहित आठजनालाई सदरमुकाम जलेश्वरस्थित क्वारेन्टाइनबाट धनुषा स्थानान्तरण गरिएको छ। जलेश्वर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थित नभएको र खानपानको समेत उचित प्रबन्ध नभएपछि उनीहरूलाई धनुषा पठाइएको हो।
उनीहरूलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइन नरपालिका गंगुलीमा सञ्चालन गरेको क्वारेन्टाइनमा स्थानान्तरण गरिएको जलेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक अनिल पाण्डेयले जानकारी दिए।
विभिन्न ठाउँमा मजदुरी गर्दै आएका उनीहरू लकडाउनको वेला साेमबार साँझ महोत्तरीको नाका हुँदै भारत प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो। पछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको पहलमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।
उनीहरूलाई धनुषा स्थानान्तरण गरिएको विषयमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीले भने असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूलाई समेत कुनै जानकारी नगराई स्थानान्तरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। यस विषयमा नगरपालिकासँग स्पष्टीकरण सोधिने उनले बताए।
Sponsored
यसैबीच जलेश्वर नगरपालिकाले कभर्डहलमा सञ्चालन गरेको क्वारेन्टाइनलाई स्थानीय राविम क्याम्पसमा स्थानान्तरणको तयारी गरेको छ। क्याम्पसका बेन्चहरू जोडेर बेड बनाइएको छ। महोत्तरीका विभिन्न स्थानमा क्वारेन्टाइन बनाउने चर्चा चले पनि अझै व्यवस्थित हुन सकेको छैन। तथ्यांकमा भने महोत्तरीमा १९ क्वारेन्टाइन निर्माण भएका छन्। जसको बेडक्षमता तीन सय ६६ छ, तर व्यवहारमा भने कुनै पनि क्वारेन्टाइन व्यवस्थित छैनन्।