धनुषाधामको सरसफाई अभियानमा सिडिओ र एसपीको साथ
टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।
जनकपुरधामसँग जोडिएको ऐतिहासिक भूमि धनुषाधाम क्षेत्र सरसफाईको लागि थालिएको अभियानमा धनुषाका प्रशासनका प्रमुखहरुले हातोमालो गरेका छन् ।
धनुषाधामस्थित धनुष सागर पोखरी धनुषमन्दिर सौन्दर्यीकरण तथा सरसफाई अभियानको पाँचौ दिन धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एपी) बसन्त रजौरेले सफाई अभियानमा हातोमालो गरेका छन् ।
दैनिक हुने पोखरी सरसफाई अभियानमा बुधबार बिहानै धनुषाधाम पुगेका धनुषाको सिडिओ पौडेल र एसपी रजौरेले अभियानीहरुको मनोबल उच्च बनाउन आफैँ पोखरीमा पसेर सरसफाई गरे ।
ऐतिहासिक एवम् धार्मिक विश्वास बोकेको धनुषसागर पोखरी सफाई तथा सौन्दर्यीकरणको अभिभारा उठाएका धनुषाधामका युवाहरुलाई प्रोत्साहन गर्नको लागि समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत अभियानीहरुलाई मनोबल बढाएको हो ।
स्थानीय युवाहरुको एक टिमले धनुषसागर पोखरी र धनुष मन्दिर पूर्ण सफाईको लागि अभियान चलाएको छ । सो अभियानमा जिल्लाकै प्रमुख व्यक्तित्वहरु आएर प्रोत्साहन गरेपछि यो महिनाभित्रै अभियानलाई पूर्णता दिइने पत्रकार बिनय यादवले बताए ।
Sponsored
सो क्रममा सिडिओ पौडेलले अभियानीहरुको अभियानलाई सराहना गर्दै अन्य धार्मिक क्षेत्रहरुमा पनि यस्तो अभियान सँचालनको अपेक्षा गरे । उनले अभियानीहरुको प्रशँसा गरे ।
यस्तै, एसपी रजौरेले यस्ता समुदायिक कार्यहरुमा जिल्ला प्रहरी कार्यालय धनुषा जहिले पनि अग्रसरता देखाएको उदाहरण देखाउँदै समुदायको लागि नेपाल प्रहरीको समन्वय र साँझेदारी अनिवार्य हुने प्रतिवद्धता जाहेर गरे ।