मधेश प्रदेश : बढ्यो कृषि क्षेत्र, बढेन उत्पादन
टुडेपाटी–
जनकपुरधाम, असार ३१ गते ।
मधेश प्रदेशमा कृषि क्षेत्र बढेको छ । कृषिका लागि उत्कृष्ट रहेको मधेश प्रदेशमा कृषि क्षेत्र बढेपनि उत्पादनमा वृद्धि हुन सकेको छैन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययन अनुसार आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा प्रमुख कृषि बालीहरूले ढाकेका भू–क्षेत्रफल १.२५ प्रतिशतले वृद्धि भएको छ, भने उत्पादनमा ५.०४ प्रतिशतले ह्रास आएको छ ।
आ.व. २०७७/७८ मा ५८ हजार ८ सय ५ हेक्टर कृषि बालीहरूले ढाकेको भू–क्षेत्रफल रहेकोमा सो अवधिमा बढेर ५९ हजार ३ सय ५ हेक्टर भएको छ ।
सप्तरी, महोत्तरी, बारा,सर्लाही र पर्सामा वृद्धि भएको छ भने सिरहा र धनुषामा यथावतै रहेको छ र रौतहटमा घटेको छ ।
प्रतिवेदन अनुसार सप्तरीमा सप्तरीमा ९ हजार ९ बाट बढेर १० हजार ५ सय, महोत्तरीमा १३ हजारबाट १३ हजार ५०, बारामा ६ हजार ३ सय २५ बाट ६ हजार ३ सय ४०, पर्सामा २ हजार २ सयबाट बढेर २ हजार २ सय ५० र सर्लाहीमा ११ हजार ९० बाट बढेर ११ हजार एक सय हेक्टर पुगेको छ ।
Sponsored
सिरहामा कुनै वृद्धि नभई ७ हजार ५ सय ६५ र धनुषामा ३ हजार ५ सय हेक्टर यथावतै रहेको छ भने रौतहटमा ५ हजार २ सय २५ बाट घटेर ५ हजार हेक्टरमा पुगेको छ ।
खाद्य तथा अन्य बालीतर्फ धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, उखु, भटमास, सुर्ती, सनपाट, दलहन, तेलहनमा ०.१० प्रतिशतले वृद्धि भई ८ लाख ३६ हजार ६ सय ४५ हेक्टर पुगेको छ ।
त्यस्तै तरकारी तथा बागवानीतर्फ ०.८५ प्रतिशतले वृद्धि भई ५९ हजार ३ सय ५ हेक्टर भू-क्षेत्रफल पुगेको छ । गतवर्ष सोही अवधिमा १.६९ प्रतिशतले वृद्धि भई ५८ हजार ८ सय ५ हेक्टर जग्गा तरकारी तथा बागवानीले ढाकेको कृषि भू-क्षेत्रफल पुगेको थियो । फलफूल तथा मसालातर्फ १.७९ प्रतिशतले वृद्धि भई ४७ हजार ८ सय ४६ हेक्टर भू-क्षेत्रफल पुगेको छ ।