मधेश प्रदेश : बागमती नदीले बगाएका दुई युवक मृत फेला
टुडेपाटी–
रौतहट, असार १९ गते ।
बागमती नदीले बगाएका दुई युवकको शव फेला परेको छ ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले रौतहटको चन्द्रपुर नगरपालिका–१, मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवकहरु ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार बगाएको थियो ।
शनिवार साँझदेखि बागमती नदीले बगाएर बेपत्ता भएका युवकको आइतवार दिउँसो शव फेला परेको हो ।
भारतको सीतामढी कोटबजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ र रौतहटकै वृन्दावन नगरपालिका वडा नं. १ को सीमा क्षेत्रस्थित बागमती नदीमै फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले बताए ।
आइतबार दिउँसो स्थानीयले मृतक दुवैको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
Sponsored
मृतक दुवैको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको छ ।
नुनथर घुम्न आएका भारतीयहरु पौडी खेल्नेक्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।