जनकपुरमा लकडाउन उल्लंघन भएपछि प्रशासनले सच्यायो निर्णय
टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।
कोरोना भाइरसका कारण देश नै लकडाउन रहेको समयमा जनकपुरधाममा बजार खुलेकाले लकडाउन उल्लंघनका घटनाहरु बढ्न थालेपछि जिल्ला विपद व्यवस्थापन समिति धनुषाले लकडाउनमा पसल संचालन गर्ने निर्णय सच्याएको छ । पसल संचालन गर्दा लकडाउन उल्लंघन भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले निर्णय सच्याएको हो ।
प्रशासनले बिहीबार लकडाउन कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको निर्देशनमा औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखाना संचालनमा रोक लगाएको छ ।
यसअघि मंगलबार बसेको समितिको बैठकले बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म दैनिक उपभोग्य वस्तु, औषधि, दुध, पानी, इन्धन लगायतका पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । जसका कारण बुधबार जनकपुरमा सर्वसाधारणको आवतजावतसँगै सवारी साधन पनि निर्वाध रूपमा गुडेका थिए ।
बिहीबार बिहान जानकी मन्दिर वरिपरि तरकारी किन्नेको घुइँचो लागेको थियो । पसल संचालन गरिदा भिडभाड बढेको भन्दै उक्त निर्णयको स्थानीयले विरोध जनाएका थिए । यसअघि समितिले खाद्यान्न पसल बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म संचालन गर्न पाइने निर्णय गरे पनि प्रशासनको पछिल्लो निर्देशनमा यसबारे केही उल्लेख गरिएको छैन ।
Sponsored