सर्लाहीमा टाटासुमो दुर्घटना, जनकपुरका पाँच जना घाइते
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
सर्लाहीमा टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् ।
बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्का नजिकै ज १ च ९६२ नम्वरको टाटासुमो आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।
सो दुर्घटनामा जनकपुरका पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा टाटासुमो चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३, पिडारी चोक बस्ने ४० वर्षीय दिलीपकुमार महरा, टाटासुमोका धनी जनकपुरधाम उपमहानगरपालिका–१४, रजौल बस्ने ५९ वर्षीय श्रीराम साह, उहाँकी श्रीमती ४५ वर्षीया राजवती साह, छोरी २५ वर्षीया कृति साह र छोरा २० वर्षीय शिरिसकुमार साह छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार टाटासुमो चालकको अवस्था गम्भीर छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Sponsored
पाँचैजना घाइते लालबन्दीमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।
साहका परिवार स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा भरतपुरतर्फ जाँदै गरेको बेला टाटासुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
चलक आफू निदाएका कारण गाडी अनियन्त्रित भइ नजिकैको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।