TodayPati

दलित भएकै कारण धेरै ठाउँबाट निकालिएका तपेश्वर बने सरकारी गाडी चालक

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

धनुषाको मिथिला नगरपालिका–२ चमरटोलीका तपेश्वर महरा १२ कक्षा पास गरेर उच्च शिक्षा हाँसिल गर्ने सोच बनाएका थिए । तर परिवारको अर्थिक अवस्थाले धान्नै सकेन । दलित र विपन्नताले उनको पढाइमा बिराम लाग्यो । घरपरिवारको जोहो गर्न उनी सवारी चलाउन सिके । हलुका सवारी चालक बने । दुईवर्ष अघि तपेश्वर हलुका सवारी चालक अनुमति पत्र पाए । ठाउँ ठाउँमा प्राइभेट चालकको काम पनि पाए । तर दलित समुदायको भएकै कारण टिक्न सकेनन् । कतै साहुले दलित भएको थाहा पाएर हटाए्, त कतै अप्रत्यासित ब्यबहार गरेर हट्न उनलाई बाध्य तुल्याए ।

नीतिगत तथा कानुनी रुपमा छुवाछुत हटाउन कानुन बनेपनि ब्यबहारमा अझै कार्यान्वयन हुन सकेको छैन । नीति निर्माता तथा उपल्लो तहमै रहेका गैर दलितहरुले नै तल्लो माथिल्लो जातको भेदभाव गर्न पछि पर्दैनन् ।

Sponsored

गैरदलित सवारी धनी आफू चढ्ने सवारी साधनमा दलित चालक नराख्ने र मालबाहक सवारी चलाउदा पनि दलित भएको थाहा भएपछि पटक पटक जातीय विभेद महसुस गर्नु परेको उनले सुनाए ।

केही महिना अघि तपेश्वर एक निजी उद्योगको मालबाहक सवारी चलाउथे । त्यहाँबाट पनि दलित भएकै कारण निकालिएको उनको भनाई छ । पछि गुजारा गर्न वैदेशिक रोजगारीमा जाने योजना बुन्दै थिए तपेश्वर । तर स्थानीय स्तरमै घरपरिवारको जोहो गर्न रोजगार भने खोज्न छाडेनन् ।

काम खोज्दै उनी गाउँकै एकजना साथीसंग एकदिन मधेश भवन छिरे । जहाँ मधेश सरकारको मन्त्रालय र आवास छ । मन्त्रालयमै कतै कुनै सानोतिनो काम वा सवारी चालक पाइहालिन्छ की भन्ने झिनो आशा सहित मन्त्रालय मन्त्रालय चहारे । मनमा अनेकौ प्रश्न खेलाउँदै । सोही क्रममा उनी गृह तथा संचार मन्त्रालय पुगे । गृह तथा संचार मन्त्रालयमा रामकुमार महतो सचिव छन् । उनी अर्को वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयका पनि सचिवको जिम्मेवारीमा छन् ।

Sponsored

तपेश्वर सचिवको कक्षमा पुगे । आफ्नो परिचय दिए । सुरुदेखि वर्तमानसम्मका एक एक समस्या सचिवलाई डर मान्दै सुनाए । सचिव महतोले तपेश्वरको सबै कुरा सुने । सचिव महतोले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र लिएर आउन भने । ‘सवारी चलाउन चै प्राक्टिकल गराउँछु । प्राक्टिकल राम्रो भयो भने अवसरमा प्राथमिकता पाउनु हुन्छ । सरकारी गाडी चलाएपछि गाडि चलाउने तरिका, आचरण, अनुशासन, रहनसहन, व्यवहार सबै मर्यादित हुनुपर्छ मलाई सचिवजीले भन्नुभयो,’ तपेश्वरले सुनाए ।


दलित भएकै कारण धेरै ठाउँमा कामबाट निकालिएका तपेश्वर मन्त्रालयको सचिवले ठाउँ यसरी आश्वासन देला भन्ने कल्पना समेत गरेका थिएनन् । पहिलो भेटमै सचिवबाट यति आश्वासन पाएपछि उनी दंग परे । चैत्र ९ गते आवश्यक सबै कागजातसहित निवेदन दिए । आवश्यक जाँचबुझ र अभ्यास पश्चात चैत्र १६ गते असार मसान्तसम्मको लागि सचिव महतोले सेवा करारमा उनलाई नियुक्ति दिए ।

सरकारकै मन्त्रालयमा सचिवको गाडी चलाउने नियुक्ति पाएपछि तपेश्वर दंग छन् । उनी भन्छन् ‘यसरी मन्त्रालयकै सचिवको गाडी चलाउने जागिर पाउँछु भनेर सोँचेकौ थिइनँ । आज करारमै भएपनि पहिलो भेटमै सचिवले म जस्ता अपहेलित दलित युवालाई ठाउँ दिनु भएकोमा आभार प्रकट गर्छु ।’

तपेश्वर मधेश प्रदेश सरकारकै उच्च अधिकारीको सवारी चालकमध्ये पहिलो दलित समुदायबाट एकला चालक हुन् ।
दलित समुदायबाट सवारी चालक नियुक्त गर्न पाएकोमा सचिव महतोले खुसी व्यक्त गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *