सप्तरीका दुईजना जमातीमा कोरोना देखिएपछि २ वडा सिल
टुडेपाटी-
सप्तरी, वैशाख ३ गते ।
सप्तरीमा दिल्लीबाट फर्केका दुई जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि दुइ स्थानीय तहका दुइ वडा सिल गरिएको छ । भारतबाट फर्केका ती दुबै जमातीमा र्यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गरिएको हा ।
बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले यी दुबै वडा सिल गर्ने निर्णय गरेको थियो । अब यी दुबै वडाका व्यक्ति घरबाट बाहिर निस्किन पाउने छैनन् ।
यस्तै, र्यापिड टेस्टका क्रममा पोजेटिभ देखिएकाको पारिवारिक सदस्यको समेत र्यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय भएको छ ।
दिल्लीबाट फर्केर घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । पोजेटिभ र नेगेटिभ दुबै रिपोर्ट आएका सातै जनाको स्वाब संकलनका लागि प्रयोगशाला परीक्षण गर्न बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइसकिएको छ ।