निर्वाचन आचारसंहिता उलंघन गरेपछि मुख्यमन्त्रीसँग स्पष्टीकरण माग
टुडेपाटी–
काठमाडौँ, बैशाख २२ गते ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री भट्टले पीडित परिवारलाई तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो ।
यस्तै आयोगले अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।
निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता २०७८ प्रतिकूल हुने गरी अभिव्यक्ति दिएकोले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।
पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्तहरू, आयोगबाट जारी भएका निर्वाचन आचारसंहिता २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए ।
Sponsored
यस्तै आयोगले निर्वाचन आचारसंहिता २०७८ विपरित रौतहट जिल्ला दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द चौधरीले मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । चौधरीले एक महिलालाई २ हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएकोसमेत ब्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।
उम्मेदवारी दर्ताको दिनपछि निरन्तर निर्वाचन आचारसंहिता उलंघनको घटना बढेको छ ।