‘जनकपुरधाम टी–२० च्याम्पियनसिप’ क्रिकेट प्रतियोगिता सुरु
टुडेपाटी-
जनकपुरधाम, चैत २६ गते ।
जनकपुरधाममा आज (शनिबार) देखि ‘जनकपुरधाम टी–२० च्याम्पियनसिप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
धनुषा क्रिकेट संघको आयोजनामा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रतियोगिता सुरु भएको हो ।
प्रमुख अतिथिको आशनबाट प्रतियोगिताको उद्घाटन गर्दै निर्माण व्यवसायी दीपेन्द्र ठाकुरले युवाको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने बताए ।
उनले खेलकुद प्रतियोगिताको आयोजनामा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रतियोगितामा १६ वटा टिम सहभागी रहेको क्रिकेट संघ धनुषाका अध्यक्ष शोेभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी १६ मध्ये ११ वटा टिम नेपालको र पाँचवटा टिम भारतको रहेको बताए ।
Sponsored
पाण्डेले नकआउट लिगको आधारमा भइरहेको यो प्रतियोगिता ४ वैशाखसम्म चल्ने बताए । यसअघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिँदै आएपनि कोरोना संक्रमणका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमलाई सामेल गरेर जनकपुरधाममा फेरि खेलको माहोल बनाउन लागिएको उनले बताए ।
प्रतियोगिताको विजेताले ५१ हजार र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने क्रिकेट संघ धनुषाका सदस्य सरोज मिश्रले जानकारी दिए ।
प्रतियोगिताका सहसंयोजक प्रेमचन्द्र रायले खेलकुदमैत्री वातावरण सिर्जना गर्न र स–साना क्रिकेट टिमलाई स्थान दिने उद्देश्यले प्रतियोगिता आयोजना भइरहेको जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा र संघका पूर्व उपाध्यक्ष राजु चौधरी रहेका थिए ।