मधेश प्रदेश : आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, चैत २५ गते ।
आठ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा सर्लाहीबाट ७ जना पक्राउ परेका छन् ।
प्रहरीले मलंगवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदिश बडही, उनका छोरा २१ वर्षीय कृष्ण ठाकुर, बुहारी १८ वर्षीया निरुता शर्मा, त्यस्तै सोही स्थानकी २५ वर्षीया संगिता बडही, करियकवा भन्ने सुनिल ठाकुर बडही, ५० वर्षीय नेवा ठाकुर र वडा नं. ११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पाँच दिन देखि बेपत्ता रहेका बालकको बिहिवार सेफ्टी ट्यांकीभित्र शव फेला परेको थियो । सोही घटनामा पक्राउ परेका सातजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
मलंगवा– १२ गम्हरियाका जीतेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको बोरामा बेरिएको अवस्थामा सेफ्टी ट्यांक भित्र शव फेला परेको थियो ।
आइतबार राती गाउँमै न्वारानको भोज खान गएपछि बेपत्ता भएका थिए ।
Sponsored
बालक बेपता भएको सूचना पश्चात प्रहरीले खोजतलास गर्दै गर्दा बालकका आफन्तसँग फेसबुक म्यासेन्जरमा १५ लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।
प्रहरीमा यस बारे जानकारी भएपछि प्रविधिको प्रयोग गरी सुक्ष्म अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिहरुको संलग्नता खुलेको प्रवक्ता बुढाथोकीले बताए ।
तिनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालकलाई जगदिश बडहीको घरको माथिल्लो तल्लामा लगी हत्या गरी शवलाई प्लाष्टिकको बोरा भित्र राखी जगदिशको घरको शौचालयको सेफ्टी टंयाकी भित्र लुकाएको खुलेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुमाथि अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पछिल्लो समय मधेश प्रदेशको जिल्लाहरुमा बालबालिका बढी टारगेट भएको पाइएको छ । यस अघि धनुषामा समेत बालिकालाई अपहरण गरी फिरौती माग गरिएको थियो । उक्त घटनामा प्रहरीले बालिकालाई सकुशल उद्धार गरी अपहरण गर्नेहरुलाई नियन्त्रणमा लिन सफल भएका थिए ।