महोत्तरीको मटिहानीमा पाँचवटा पसलमा आगलागी हुँदा करोडौँको क्षति
टुडेपाटी–
महोत्तरी, फागुन २१ गते ।
महोत्तरीको मटिहानीमा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
मटिहानी नगरपालिका वडा नं. ८ स्थित बजारमा शनिवार बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको महोत्तरी प्रहरीले जनाएका छन् ।
स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी–७ का भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतल्ले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो ।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Sponsored
आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।