नगराइन नपाको प्रमुख प्रशासकीय अधिकृतमा शर्मा हाजिर, असन्तुष्टि जनाउँदै मन्त्रालय पुगे सोनु
टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।
धनुषाको नगराइन नगरपालिकामा कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भन्दै मन्त्रालयमा निवेदन परेको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सातौँ तह प्रशासन सेवा तर्फका सन्तोष शर्मालाई नगराइन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।
नगरपालिकामा शर्मा प्रमुख प्रशासकीय अधिकृतमा आएपछि त्यहाँ प्रशासन शाखामा कार्यरत्त आठौँ तहका प्रशासकीय अधिकृत विनयकुमार सोनु बिजकिएका छन् ।
शर्मा बुधबार कार्यालयमा हाजिर भएपछि सोनुले असन्तुष्टि जनाउँदै समान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका हुन् । आफू बरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ट कर्मचारीलाई प्रशासकीय अधिकृतको जिम्मेबारी दिँदा आफू अन्यायमा परेको उनले निवेदनमा उल्लेख गरेका छन् ।
नगरपालिकामा कनिष्ठ कर्मचारी प्रशासकीय हुँदा आफू बरिष्ठ कर्मचारी के आधारमा उनको निर्देशनमा आफूले काम गर्ने ?, कनिष्ठ कर्मचारीबाट कसरी आफ्नो कार्यसम्पाद गराउने ? लगायतको प्र्रश्नसहितको निवेदन सोनुले मन्त्रालयमा दिएका हुन् ।
Sponsored
नगराइन नगरपालिकामा स्वीकृत दरबन्दी संरचना अनुसार उपसचिव (नवौं, दशौं तह) प्रमुख प्रशासकीय अधिकृत हुने भएकाले आफूभन्दा बरिष्ठ कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइदिन सोनुले निवेदनमा माग गरेका छन् ।
शर्मा हाल धनुषाकै सबैला नगरपालिका कार्यालयमा समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा छन् । उनलाई मन्त्रालयले नगराइन नगरपालिकाको कार्यालय थप हेर्ने गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको हो ।
सोनुलाई समान्य प्रशासन मन्त्रालयले बरिष्ठताको आधारमा २४ साउन २०७६ बाट आर्थिक तथा प्रशासनिक जिम्मेबारी दिएको थियो । पछि नगरपालिकामा उप सचिव राजकुमार केसी प्रमुख प्रशासकीय अधिकृतमा आएपछि उनी सोको जिम्मेबारीबाट मुक्त भएका थिए । केसी पनि त्यहाँबाटा रावाना भएको चार महिना भइसकेको छ । त्यस यता प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोे थियो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकासे लगायत नगरपालिकाको थुप्रै काम प्रभावित भएको थियो । मन्त्रालयले चार महिनापछि त्यहाँ थप जिम्मेवारीमा शर्मालाई पठाएको हो ,
सोनु स्थानीय तहमा समायोजन भएका कर्मचारी हुन् भने प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका शर्मा संघका कर्मचारी हुन् ।
नगरप्रमुख प्रमेश्वर यादवले भने प्रशासकीय अधिकृत सोनु गैर जिम्मेबारीपन देखाएपछि मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत माग गरेको बताए ।
‘तीन महिनामा एकदिन आउँथे । एक दिनमै तीनै महिनाको हस्ताक्षर गर्थे । काम केही गरेनन्’ नगरप्रमुख यादवले भने ‘त्यसकारण बाध्य भएर हामी मन्त्रालयबाट अर्को प्रशासकीय अधिकृत माग्यौं । मन्त्रालयले सन्तोष शर्मालाई पठाइदियो ’
नगरप्रमुख यादव आफूमाथि लगाएको आरोप निराधार रहेको र उनीहरुले नै काम गर्न नदिएको प्रशासकीय अधिकृत सोनुको दावी छ । ‘मलाई राम्ररी काम गर्न दिनुभएन । पछिल्लो विवादित योजनाहरुको चार करोड रुपैयाँ बढी भुक्तानी बाँकी छ । त्यो भुक्तानी, नियमसंगत नमिलेको काम गर्न धेरै दबाब दियो’ सोनुले भने ‘तर म इन्कार गरे । त्यसकारण म नियमित आएर गरेको हाजिरी काट्यो । मन्त्रालयमा फर्जी प्रमाणसहित म विरुद्ध उजुरी दिएर के कसरी मिलाएर कनिष्ठ कर्मचारीलाई मेयरसाहेब ल्याउनु भएको छ । जसरी पनि पहिलाको विवादित र नभएको कामको पनि भुक्तानी गराउने उहाँको उद्देश्य छ’
बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका शर्माले मन्त्रालयले आफूलाई नगराइन नगरपालिका थप हेर्ने गरी जिम्मेबारीमा खटाएको बताए । ‘यहाँ तह र श्रेणीको तुल्ना हुन सक्दैन । म संघको तेश्रो श्रेणीको कर्मचारी हुँ । सोनु स्थानीय तहमा समायोजन भएपछि आठौं तहको हुनु भएको छ ’ उनले भने ‘मन्त्रालयले मलाई नगराइन नगरपालिका हेर्ने थप जिम्मबारी दिएको छ । किन दियो मन्त्रालयलाई नै थाहा छ ।’