सर्लाहीको चन्दनगर गाउँपालिकाले स्वागत गेट निर्माण गर्न खनेको खाल्डोमा महिनामै ६ दुर्घटना
टुडेपाटी-
सर्लाही, फागुन १५ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले स्वागत गेट निर्माणको लागि खनेको खाल्डोमा परेर एक महिनामा ६ वटा सवारी दुर्घटना भएको छ ।
फुलजोर सोनबरसा सडक खण्ड परती बजारमा बनाउन लागेको स्वागत गेट निर्माण स्थलमा शुरु भएको एक महिना भित्रै ६ वटा सवारी दुर्घटना भएको हो ।
पछिल्लो समय फागुन १३ गते सांझ गाउँपालिकाले निर्माण गर्न लागेको स्वागत गेट स्थलमा बबरगंज स्कुल टोल निवासी गरिब राउतका छोरा दिपक राउतले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचार वीरगञ्ज स्थित नेशनल मेडिकल हस्पिटलको आईसियूमा भइरहेको छ ।
सो खाल्डोको कारण यसअघि पनि त्यहाँ पाँचवटा दुर्घटना भइसकेको छ । यस अघि बबरगंजकै अविनास साह र यूवराज साह चढेको मोटरसाइकल पनि त्यही स्वागत गेट निर्माण स्थलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिकाकी एक जना महिला पनि गम्भिर घाइते भएकी थिइन् । ती महिला काठमाडौको एक हस्पिटलमा उपचाररत छन् ।
दुर्घटनामा घाइते भएका अविनास साह र यूवराज साह एक हप्ताको अस्पताल उपचार पश्चात डिस्चार्ज भएका थिए । त्यही स्वागत गेट निर्माण स्थलमा अर्को सवारी दुर्घटनमा परेका बबरगंज निवासी दिलिप प्रसाद महतो हुन् । उनी पनि अस्पताल उपचार पश्चात घर फर्केका छन् र मोटरसाइकलमा निकै क्षति भएको छ । सोही दुर्घटनामा परि मोहनपुर फरिदटोलको युवकको टाउकोमा चोट लागि रगत बग्दै गर्दा दिलिप प्रसाद महतोले उपचारको लागि अस्पताल पठाएका थिए ।
Sponsored
फुलजोर सोनबरसा सडक खण्ड परती बजार नजिक चन्द्रनगर गांउपालिकाले ६६ लाखको लगानीमा निर्माण गर्न लागेको स्वागत गेटको जग खन्ने कार्य देखि नै सो सडक साँघुरो भएको छ ।
सडकको कुल चौडाई ५२ फिट कायम रहेको वर्तमान अवस्थामा चन्द्रनगर गाउँपालिकाले सडक डिभिजनको प्राविधिक परामर्श एवम् स्वीकृती बिना नै ३० फिट चौडाइको स्वागत गेट निर्माण गर्न लागेको हो ।
मुख्य सडकमा स्वागत गेट जस्ता ठूलो संरचना निर्माण गर्न आवश्यक लाइट तथा उपयूक्त स्थानमा डाइभर्सनको व्यवस्था पनि नगरी गैरजिम्मेवार तवरले गाउँपालिका कार्यालय अघि बढाएको हो ।
स्थानीय बासिन्दाहरुले स्वागत गेट निर्माण गर्दा सडक सुरक्षा तथा निर्माण गुणस्तर सुनिश्चितता गर्न चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडीलाई गुनासो र गुहार गरे पनि उनले वेबास्ता गर्दै आएको स्थानीयको गुनासो छ ।
सो स्थानमा रातिमा लाईटसहित सडक सुरक्षा व्यवस्थाको अभावमा पछिल्लो समय भयानक दुर्घटनामा परेका बबरगंज निवासी दिपक राउत अति विपन्न परिवारका हुन् । उनको उपचार वीरगंजको नेशनर मेडिकल हस्पिटलको आइसियूमा भई रहेको छ ।
गाउँपालिकाको गैर जिम्मेवारी कार्यले दुर्घटनामा परेका अति विपन्न दिपकको ज्यान रक्षा तथा उनको उपचार खर्च कसले व्यहोर्ने स्थानीयले प्रश्न गरेका छन् ।
दिपकका आमा, बहिनी तथा अन्य कुरुवा उपचारको लागि पैसा अभाव मात्र झेलिरहेका छैनन्, बिहान बुलेकाको खाना अभावमा भोक भाकै कठिन समय बिताउन बाध्य भएको स्थानीयले बताएका छन् ।