मधेशमा प्रहरीकै ‘सेटिङ’मा कौडा खेल, ‘डिस्टर्व’ गर्नेलाई झुठा मुद्दा चलाएर थुनामा राख्ने गरेको खुलासा
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन १ गते ।
महोत्तरीमा प्रहरीकै सेटिङमा कौडा (जुवा) खेल हुने गरेको खुलासा भएको छ । जुवा खेललाई अवरोध गर्दा महोत्तरीका एसपी दिनेश आचार्यले एक प्रहरीसहित तीनजना माथि काल्पनिक घटना देखाएर मुद्दा दर्ता गरी ८ दिन थुनेको खुलासा भएको हो ।
स्थानीयका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका–६ स्थित बाँस झ्यांगमा प्रहरीको संरक्षणमा जुवा अखडा संचालन भइरहेको थियो । त्यसमा अवरोध गरेको आरोपमा तीनजना जनालाई मुद्दा चलाइएको हो । गोपनियता भंग भएको भन्दै एक प्रहरी जवानलाई विभागिय कारवाही भोग्नु गरेको छ ।
जुवा खेलाउनेलाई संरक्षण दिन प्रहरीले काल्पनिक घटना खडा गरेर प्रहरी जवानसहित तीनै जनामाथि सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाइएको खुलेको हो । यो घटनामा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी आचार्य र प्रवक्ता एवं डीएसपी प्रकाश विष्टकै बक्तव्य नै बाँझिएको देखिन्छ ।
श्रोतका अनुसार, लोहारपट्टीमा महिनौदेखि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रदेश प्रहरी कार्यालय जनकपुरको संरक्षणमा कौडाखेल हुन्छ । त्यहाँ दैनिक २० लाख भन्दा बढीको खेल हुन्छ । नेपाल र भारत जिल्लाबाट जुवाडे खालमा जुट्छन् ।
कौडा खेल्न दिए बापत जिल्लादेखि मधेश प्रदेश प्रहरी कार्यालयसम्म महिनाबारी पुग्छ । जसको लाइन डीआइजीका घुमुवा महेन्द्र महतोले मिलाउँदै आएको स्रोतको दावी छ ।
Sponsored
त्यही कौडा खेलको विषयमा सुइको पाएपछि इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त प्रहरी जवान दिलबहादुर खुलालसहित चार जना युवक गत माघ १६ गते दिउँसो लोहारपट्टी पुगेका थिए । त्यहाँ एकजनाले तस्वीर खिचेपछि भागाभाग भएको थियो ।त्यसपछि उनीहरु फर्किए । प्रहरीकै सेटिंगमा भएको कौडा खेलको भण्डाफोर हुने भएपछि महोत्तरीका एसपी दिनेश आचार्य चिढिए । उनले माघ १७ गते दिउँसो प्रहरी जवानसहित तीनजनालाई भेटघाटका लागि भन्दै जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीमा बोलाए ।
पक्राउ परेकाहरुलाई दबाब दिएर दर्ता गरेको काल्पनिक घटनाको शैलीमै बयान दिलाउन लगाएको स्रोतो दावी छ ।
एसपी आचार्यले काल्पनिक घटना खडा गरी उनीहरुमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा नै चलाए ।
मुद्दाको व्यहोरामा माघ १७ गते साँझ सडकमा गाडी लिएर हिडिरहेको बेला बाटोमा हिलो छ्यापिएको र त्यस क्रममा विवाद हुँदा विशेष प्रहरी भन्दै उनीहरुले स्थानीयलाई कुटपिट गरेको विवरण उल्लेख छ । त्यस क्रममा पक्राउ गरेर शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता विष्टको भनाई छ ।
प्रहरीलाई विभागीय कारबाही गरी इप्रका बर्दिबासबाट हटाइएको छ । अन्य दुईजनालाई जिल्ला प्रशासन कार्यालयमा ५–५ सय रुपैयाँ धरौटी राखेर छाडिएको छ । उनीहरुलाई ८ दिनपछि प्रहरीले रिहा गरेको छ । जबकी उनीहरुलाई १७ गते दिउँसो नै प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए भने सोहि दिन साँझ उनीहरुले लोहारपट्टीमा कसरी हिलोछ्याप्यो रु प्रहरीमाथि प्रश्न तेर्सिएको छ ।
डीएसपी विष्टले भने अनुसार घटना नभएको एसपी आचार्यको वक्तव्यले पुष्टि गर्छ ।उनका अनुसार एक झाडीमा जुवा भइरहेको बेला उनीहरु पुगेर आफुहरु विशेष प्रहरी भनेर लुटपाट गरेर भागेपछि पक्राउ गरेर मुद्दा चलाएको हो ।
जिल्ला प्रहरीकै एसपी र डिएसपीको फरक भनाइले तीनैजनामाथि काल्पनिक घटना खडा गरी जालसाजी मुद्दा दर्ता गरी हिरातमा राखिएको देखिन्छ ।
उसो भए कौडा खेलाउने मान्छे एकजना पनि अहिलेसम्म किन पक्राउ परेनन् रु जिज्ञासामा एसपी आचार्य भन्छन् ‘हामी जुवातास खेलाउने मान्छेलाई पनि समात्न खोजिरहेका छौं । जानकारी आएपछि त्यहाँ प्रहरी पठाएका थियौं । तर पक्राउ परेनन् ।’
घटना विषयमा तपाई र डिएसपीको भनाइ फरक परिरहेको छ नि रु प्रश्नमा एसपी आचार्य अकमकिएर भने ‘ठीक छ । हामीले अभद्र व्यबहारमा मुद्दा चलाएका हौं । जसबम्म कसैले लुटिएको निवेदन दिँदैन तबसम्म लुटपाटका मुद्दा चलाउन मिल्दैन ।’
जुवाडेको खोजविन गर्दा पनि हालसम्म फेला नपरेको भनेर एसपी आचार्य तर्क गर्छन् । तर, दिनहु सोहि स्थान र छेउछाउमा कौडा खेल जारी नै रहेको छ । लामोसमयदेखि त्यहाँ किशोरी साह नाम गरेका व्यक्तिले कौडा खेलाउने गरेको छ । उनी खुलेआम घुमिरहेका छन् ।
घटना भएको दिनको तस्बीर पनि फेला परेको छ । जसमा कौडा खेलाउने किशोरी साह स्वयम् त्यहाँ बसिरहेको देखिन्छन् । उनको धन्धा अझै जारी नै छ । नियमित प्रहरीको सम्पर्कमै हुन्छन् उनी । तर, एसपी आचार्य खोजविन गर्दा पनि जुवाडेहरु नभेटेको तर्क दिँदै पन्छिरहेका छन् ।
यसले पनि प्रहरीले सेटिंगमा कौडा खेलाउने गरेको पुष्टि हुन्छ । जुवा खेलाउने किशोरी साहले माघ १६ गते कौडा खालमा एक प्रहरीसहित केही अन्यको संलग्नता रहेपनि समातिएका अन्य दुई युवक पूर्ण रुपमा निर्दोष भएको दावी गरे । ‘प्रहरीले कार्ड देखाएपछि भागाभाग भयो । अन्य पनि तीनचारजना थिए । तर पक्राउ परेका अन्य दुईजना त्यहाँ आएका थिएनन् । उनीहरु पूर्णरुपमा निर्दोष छन् । प्रहरीले किन पक्राउ गरेर मुद्दा चलायो प्रहरीले नै जानुन् ‘ किशोरी साहले भने ।
उसो भए तपाईं त कौडा खेलाउने मान्छे, कौडा प्रतिबन्धित खेल हो, तपाईलाई प्रहरीले किन समातेन रु प्रश्नमा किशोरी साहले भने ‘हाम्रो ९र१० जनाको समूह छ । सबैजना मिलेर कौडा खेल खेलाउँछौं । प्रहरी किन हामीलाई समात्दैन त्यो म भन्दिन ।’
उनले जिल्लाको अन्य थुप्रै स्थानमा कौडा खेल हुने गरेको बताए ।
यस विषयमा मधेश प्रदेशका डीआइजी रञ्जिताकारसंग प्रतिक्रिया लिन खोज्दा फोन उठेन ।
महोत्तरीका सहायक सीडीओ उपेन्द्र न्यौपानेले मुद्दा चलिसकेकाले फैसला नहुञ्जेलसम्म विचारधीन मुद्दामा केही भन्न नसक्ने बताउँछन् । प्रहरीले घटनाको अनुसन्धानको क्रममा बदनियत गरे कानुनी कारबाही हुने व्यवस्था रहेको छ ।