मधेश प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित उर्मिला अर्याल र खालिद सिद्धीकी को हुन् ?
टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।
मधेश प्रदेशबाट राष्ट्रियसभाका दुई पदको लागि भएको निर्वाचनमा सत्ता गठबन्धनकै दुबै उम्मेदवार विजयी भएका छन् । महिला तर्फ नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्यालय विजयी भएकी हुन् भने अन्य तर्फ जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद खालिद सिद्धकी विजयी भएका हुन् ।
अर्यालय ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याउन सकिन् । यादव लोसपाबाट उम्मेदवार थिइन् ।
यस्तै गठबन्धनकै सिद्धिकी सिद्धिकी ६६७८ मतभार सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी मात्र २७६६ मत भार ल्याउन सफल भए । उनी एमालेबाट उम्मेदवार थिए ।
उर्मिला अर्याल :
सत्तागठबन्धनबाट विजयी भएकी उर्मिला अर्यालय पर्साकी हुन् । पर्सा विरगंज महानगरपालिका मसियानीकी अर्याल २०७० जेठ ४ मा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।
Sponsored
२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जकी स्ववियू अध्यक्षसमेत रहेकी उनी २०५६ सालमा पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेकी थिइन्। त्यसअघि उनी त्यहीबाट पटक(पटक चुनाव हारेकी थिइन्। हाल माओवादी केन्द्रको सदस्य रहेकी उनको राजनीतिक यात्रा नेकपा मसालबाट सुरु भएको थियो।
२०७४ को प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी उनी तत्कालीन राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएकी थिइन्। २०६८ सालमा स्थानीय विकास मन्त्री भएकी उनी अन्तरिम सरकारको बेला २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत भएकी थिइन्।
खालिद सिद्धिकी :
जनता समाजवादी पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित मोहम्मद खालिद सिद्धिकी सिरहा नगरपालिका–५ रमौलका हुन्। जसपाका केन्द्रीय सदस्य रहेका सिद्धिकी मुस्लिम समुदायको हकहितका लागि काम गर्ने संस्था जमियत उलमाय नेपालका अध्यक्ष पनि हुन्।
२०५९ देखि तत्कालीन मधेशी जनअधिकार फोरममा लागेका सिद्धिकीले जसपाका अध्यक्ष उपेन्द्र यादवकालागि निरन्तर काम गरि रहे। २०६४ सालमा भएको तत्कालिन फोरम नेपालको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। त्यो समयदेखि अहिलेसम्म केन्द्रीय सदस्यमै छन्।
हरेक चुनावमा उनलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाउने गरिन्छ तर उनी कहिल्यै सांसद भने बन्न सकेनन्। सत्तारुढ गठबन्धनको मजबुत पकड रहेको अवस्थामा उनलाई यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको छ।
सिद्धिकीले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए। कांग्रेसको केन्द्रीय अर्थ समिति सदस्य समेत भइसकेका उनी २०५९ सालमा मधेश केन्द्रित राजनीति सुरु गरेका थिए। ५२ वर्षीय सिद्धिकी इस्लामिक लमा स्नातोक्तार गरेका छन्।