धनुषामा २५ जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा उपस्थित हुन रोक
टुडेपाटी–
जनकपुरधाम, पुस २८ गते ।
कोरोना संक्रमण बढ्दै गएपछि धनुषा प्रशासनले जिल्लामा २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा उपस्थित हुन रोक लगाएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)को सिफारिश र गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण फैलिन नदिनका लागि विभिन्न निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्न गराउन आदेश दिएका छन् ।
त्यस्तै सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हाल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) निर्णय गरेका छन् । माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने प्रशासनले निर्णय गरेको छ ।
त्यस्तै स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सीमाना लगायत सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परिक्षण गर्ने, गराउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिएका हुन् ।
Sponsored