प्रदेश २ : छुट्टा–छुट्टै स्थानमा साइकल र चार चक्के गाडीको ठक्करबाट एक महिला सहित दुईको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, पुस ११ गते ।
साइकल र चार चक्के गाडीको ठक्करबाट सर्लाहीको छुट्टा–छुट्टै स्थानमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
शनिवार साँझ करिब साढे ७ बजे हरिपुर–६ लक्ष्मीपुर स्थित नवलपुर–मलंगवा सडकखण्डमा सोही स्थानकी ५५ वर्षीया सैफुल खातुनलाई बाटो क्रस गर्ने क्रममा साईकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पाताल जनकपुरमा मृत्यु भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
ठक्कर दिने साइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै राति करिब १० बजे ईश्वरपुर–१२ बाँके जङगल स्थित पुर्वपश्चिम लोकमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले बिपरित दिशा तर्फबाट आउदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लालबन्दी–७ का ५६ वर्षीय भिम गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनलाई जिल्ला अस्पताल मलंगवा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । त्यस्तै सो मोटरसाइकल चलाउने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । दुर्घटना पश्चात उनको हात, खुट्टा र शरिरको बिभन्न भागमा चोट लागेपछि लालबन्दी मोडेल अस्पतालमा उपचारको लागि पठाइएको हो ।
Sponsored
ठक्कर दिने गाडी फरार रहेकाले गाडी र चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।