सिरहा : आमहडतालको नाममा जनमत कार्यकर्ता तोडफोडमा, दर्जनौं सेल अश्रुग्यास प्रहार
टुडेपाटी-
सिरहा, पुस ११ गते ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहडतालको नाममा दर्जनौं गाडीमा तोडफोड गरेका छन् । किसानको रिहाइको माग गर्दै आइतबार बिहानदेखि आमहडतालको नाममा सडकमा उत्रिएका बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडीमा तोडफोड गरेका हुन् ।
गाडीहरू तोडफोड हुन थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहीबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।
आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बाँकी रहेको बताए ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले लुटेका कारण गाउँपालिकाले चार किसानमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता गराएको छ र प्रहरीले एक किसानलाई पक्राउसमेत गरेका छन् । उक्त घटनाको विरोधमा जनमत पार्टीले आज आन्दोलन घोषणा गरेको हो ।
Sponsored
पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले चेतावनीसमेत दिएका छन् ।