TodayPati

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

टुडेपाटी–
रौतहट, मंसिर २२ गते ।

रौतहट फतुवा विजयपुर नगरपालिकाका करोडौं रुपैयाँको बजेट अनियमितता भएको आरोप लागेको छ । नगरपालिकाका प्रमुख, एकजना पूर्व सांसद र कर्मचारीको मिलोमतोमा नगरपालिकाको करोडौं बजेट अनियमितता भएको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका नेताहरूको दाबी छ ।

जसपाका केन्द्रीय सदस्य विन्देश्वर यादव नेतृत्वको टोलीले गत वर्ष जेठ महिनामा सूचनाको हक प्रयोग गरेर नगरपालिकासँग झन्डै ७५ वटा शीर्षकको जानकारीको माग गरेको थियो । तर नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐनको बेवास्ता गरेको छ ।

Sponsored

जसपाका नेता शिवपुजन यादवले गत जेठमा नगरपालिकाका सूचना अधिकारीलाई सम्बोधन गरि मागिएको ७५ बुँदे सूचना ७ महिना बितिसक्दा पनि नगरपालिकाले नदिएको बताए ।

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र दफा ७ (१) ले नागरिकको सूचनाको हकलाई प्रवृष्ट गरेको छ । सार्वजनिक सरोकारको कार्यमा नागरिकले सूचना सजिलै पाउनु पर्छ भनी नेपालको कानुनले नै प्रष्ट पारेको छ । तर फतुवा विजयपुर नगरपालिकाले नागरिकलाई सूचनाको हक पाउनबाट बञ्चित गराएर कानूनको धज्जी उडाएको यादवको भनाइ छ ।

आर्थिक वर्ष २०७४÷७५ देखि ०७७÷८८ सम्म आय ब्यय विवरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लेखाजोखा, बहु राष्ट्रिय बालपोषण कार्यक्रमको विवरण, सामाजिक सुरक्षा भत्ता, सेवाग्राहीको बैंक खातामा पठाउनु अघिको भर्पाइसहित लेखाजोखा, सामाजिक संस्थालाई दिएको कार्यक्रमको विवरण, गत वर्ष मकै पीडित किसान, धानको बीउ वितरणको विवरण लगायत ७५ वटा शीर्षकमा सूचना माग गरिएको नेता शिवपुजन यादवले जानकारी दिए ।

Sponsored

गत वर्ष जेठ महिनामा लिखित निवेदन दिएको र ३ महिनापछि गत भदौदेखि पटक पटक ताकेता गर्दा पनि लेखापाल नवीन यादवले नगरपालिकाको हिसाबबारे जानकारी दिन आलटाल गर्दै आएको बताइएको छ ।

नगरपालिकाले सूचना उपलब्ध नगराएकै कारण मेयर गोपाल यादवको कार्यकालमा अनियमितता भएको अनुमान गर्न सकिने उनको भनाइ छ ।

फतुवा विजयपुर नगरपालिकामा सशर्त, निशर्त, निजीस्रोत, शिक्षा, स्वास्थ्य, लगायत विभिन्न शीर्षकमा आउने करोडौंको बजेट एकजना पूर्व सांसद, मेयर, कर्मचारी र शिक्षा संयोजकको मिलिमतोमा भागबन्डा भइरहेको जसपा र माओवादीका नेताहरूको दाबी छ । सोही कारण उक्त सूचना लुकाइएको उनीहरु बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *