महोत्तरीमा बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश
टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।
महोत्तरीमा बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई जिल्ला अदालत महोत्तरीले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार औरही नगरपालिका वडा नं. ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छाड्न आदेश दिएका हुन् । न्यायाधीश ध्रुवराज त्रिपाठीले चार लाख धरौटीमा आरोपीलाई छोडन आदेश दिएको छ । यता अदालतमा आरोपीले धरौटी रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
गत असोज २८ गते बिहीबार नवमीको साँझ औरही नगरपालिका वडा नं. ९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई स्थानीय राम कलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले देवर–भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो ।
Sponsored