एमालेको महाधिवेशनमा प्रचण्ड नजाने
टुडेपाटी–
काठमाडौं, मंसिर ९ गते ।
नेकपा एमालेको महाधिवेशनमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएको छ । शुक्रबार चितवनमा हुने उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी नहुने भएका छन् ।
पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
नेता श्रेष्ठले पार्टीको प्रतिनिधि बनेर कोही नेता जाने तर त्यसको अहिले टुंगो नलागेको बताए ।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन् ।
एमालेको १० औँ महाधिवेशनको उद्घाटनमा सहभागी हुन एमाले नेता राजन भट्टराईले केही दिनअघि प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए ।
२०७५ जेठमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष थिए । नेकपामा हुँदा पछिल्लो समय उनीहरूबीच तीव्र मतभिन्नता थियो।
सर्वोच्च अदालतको आदेशपछि गत फागुनमा नेकपा बनेका एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।
Sponsored
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले महाधिवेशनको निम्तो नै दिएको छैन ।
सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार हेलिकप्टरमा चितवन जाँदैछन् ।