प्रदेश २ : कारागारभित्रै आत्महत्या गरेको घटनामा मानवअधिकार आयोगले थाल्यो छानविन
टुडेपाटी–
रौतहट, मंसिर ३ गते ।
रौतहटमा कारागारमा झुण्डिएर आत्महत्या गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले छानविन थालेको छ ।
रौतहटको सदरमुकाम गौरस्थित कारागारभित्रै एक कैदीबन्दीको झुन्डिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा आयोगका प्रतिनिधिले छानबिन गरेको छ । सो घटनालाई लिएर स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरी विभिन्न व्यक्तिसँग सोधपुछ गरेको छ ।
कारागारमा रहेका लडाई साह गत बुधबार कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला गरेका थिए । उनीमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रौतहटले २१ वर्षको जेल सजाय तोकेको थियो ।
२०७६ वैशाख ४ गतेदेखि कैदी जीवन बिताइरहेका साह जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए ।
देवाही गोनाही–७ निवासी साहले आत्महत्या गर्नुपर्ने कारण नरहेको भन्दै परिवारजनले घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेपछि विभिन्न तहबाट अध्ययन तथा अनुसन्धान हुन थालेको हो ।
Sponsored
घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिसँग सोधपुछ गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेलसहित चार जना जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेका छन् ।
यता कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले समेत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताए ।