जनकपुरधामको देवपुरा रुपैठा घटनामा ७ बुँदे सहमति, निषेधाज्ञा हटाइयो
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।
जनकपुरधाममा लगाइएको निषेधाज्ञा हटाइएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादको टुङ्गो लागेपछि स्थानीय प्रशासनले निषेधाज्ञा हटाएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा दुबै पक्षबिच ७ बुँदे सहमति भएको हो ।
स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफल पश्चात ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।
छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो विषयलाई लिएर शनिवार पुनः झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो ।
तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।
उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिती समेत गठन गरिएको प्रजिअ वास्तोलाले बताए ।
Sponsored