प्रदेश प्रमुख मिश्रलाई अख्तियारको बर्दिबास कार्यालयले बुझायो बार्षिक प्रतिवेदन
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगको कार्यालय बर्दिबासका प्रमुख कृष्ण प्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।
बर्दिबासको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा कुल २ हजार ५ सय ९७ वटा उजुरी परेको जनाएको छ । परेको उजुरीहरु मध्ये १ हजार ४ सय १ वटा उजुरी फर्छौट भएको र बाँकी उजुरी यस वर्षमा सारेको प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । उनले गत वर्ष ९ वटा स्टिङ्ग अपरेशन गरेको र सो बाट १ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँ बरामद गरेको जनाएको छ ।
अख्तियारको कार्यालय बर्दिबासमा गत वर्षको १ हजार १ सय ९६ र चालु आर्थिक वर्षको असोजसम्ममा ३ सय २५ वटा उजुरी रहेको बताए । सो मध्ये १ सय ५६ वटा उजुरी फर्छौट भएको हो ।
चालु आर्थिक वर्षमा रहेको उजुरीमा सबैभन्दा बढी स्थानीय तह विरुद्धको उजुरी रहेको छ । स्थानीय तहविरुद्ध ९ सय ५२ वटा उजुरी रहेको छ । त्यस्तै संघ तर्फ ४ सय ९१ र प्रदेश विरुद्ध ७५ वटा उजुरी रहेको छ ।
प्रदेश तर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको छ भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यन्यायाधिवक्ताको कार्यालय विरुद्ध कुनै उजुरी परेको छैन् ।
Sponsored