प्रदेश २ : तलबको माग गर्दै शिक्षक कर्मचारी आन्दोलित
टुडेपाटी–
रौतहट, कार्तिक २९ गते ।
तलबको माग गर्दै रौतहटमा शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा समेत नपाका कारण बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।
आइतबार शिक्षक कर्मचारीहरु नगरपालिकाको अगाडि भेला भएर जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।
जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिल्दा फतुवा बिजयपुर नगर अन्तर्गत ३२ विद्यालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना महिला शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।
पहिलो चरणमा सबै विद्यालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय प्राङ्गणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेको छन् ।
फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको बताए ।
Sponsored