TodayPati

कमला नदीमा भण्डारणको नाममा क्रसर स्थापनाको प्रयास

विनय यादव-
सिरहा, कार्तिक २६ गते ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक निर्माण गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले कर्जन्हा नगरपालिका १ स्थित कमलाको बगरमा नदिजन्य पदार्थ भण्डारणका लागि अनुमति दिन गत असोज १७ मा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दियो । मन्त्रालयले कार्तिक १ मा डिभिजन वन कार्यालय लहान सिरहालाई जग्गा उपलब्ध गराइदिन भनी पत्र काट्यो ।

डिभिजन वन कार्यालयले कार्तिक ५ मा कर्जन्हा १ स्थित ब्लक एकको जग्गा प्रयोग गर्न दिन भनी वडा कार्यालय र नन्द बाबा सामुदायिक वनलाई पत्र काट्यो । यतिबेलासम्म स्थानीयलाई केहि थाहा थिएन । तर, त्यसपछि वनका अध्यक्ष श्याम बहादुर फुँयाल लगायत केहि व्यक्तिले एउटा म्यान्यूट बनाएर गाउँमा स्थानीयहरुलाई हस्ताक्षर गर्न लगाए । पोखरी खनिने र त्यसबाट आउने माटो बालुवाले गाउँका सडकहरु ग्राभेल हुने भनेर उनले झण्डै २ सय स्थानीयसँग झुक्याएर हस्ताक्षर गराए । त्यसपछि स्थानीयले सोधखोज गरेपछि भण्डारण मात्र नभएर भण्डारणका लागि अनुमति लिएर त्यहाँ क्रसर सञ्चालन गर्ने आन्तरिक योजना रहेको थाहा पाएका छन् ।

Sponsored

यहाँ आसपासमा अन्य कुनै नदि नभएको र कमलामै भण्डारण राख्न खोजिनुले पनि कमलाबाटै उत्खनन गर्ने योजना निर्माण कम्पनीको रहेको प्रष्ट देखिन्छ । यस्तो थाहा पाएपछि स्थानीय यसको विरोधमा उत्रेका छन् । खोला उत्खनन भएपछि पानी तल जाने भएकाले यहाँको जमिन खण्डहर हुने र गाउँमा समेत खानेपानीको समस्या हुने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भण्डारणका लागि अनुमति दिए निर्माण कम्पनीले क्रसर सञ्चालन गर्ने भन्दै कुनै पनि हालतमा यसमा सहमत नहुने अडान स्थानीयको छ । तर, निर्माण कम्पनीले विभिन्न मान्छेहरुलाई आफूले सबै प्रक्रिया पुर्याइ सकेको र जसरी पनि त्यहाँ आफ्नो काम थाल्ने बताइरहेको स्थानीय बताउँछन् ।

स्थानीयले विरोध गरेपछि निर्माण कम्पनीले स्थानीयलाई जग्गा प्रयोग गरे बापत प्रत्येक वर्ष एक लाख गरी तीन वर्षको तीन लाख दिने प्रस्ताव पनि गरेका छन् ।

आफूहरुको विमति भएपनि निर्माण कम्पनी वनका अध्यक्ष फुँयालसहित केहि व्यक्तिहरुको मिलेमतोमा नदिजन्य भण्डारणका नाममा क्रसर सञ्चालन गर्ने प्रयास भइरहेको स्थानीय आरोप छ । तर, वनका अध्यक्ष फुँयाल भने भण्डारणको विषय बाहेक आफूलाई केहि पनि थाहा नभएको दावी गर्छन् ।

Sponsored

यसमा नगरपालिकाका मेयर गंगा पासवान र उपमेयर ज्ञान कुमारी श्रेष्ठको साथ रहेको दावी स्थानीयको छ । वडाध्यक्ष मोहनलाल खत्री भने यहाँ स्थानीयकै अनुसार आफ्नो धारणा रहने बताउँछन् ।

यहाँ गत ७–८ वर्षअघि पनि क्रसर सञ्चालन गरिएको थियो । तर, आसपासमा पानीको हाहाकार मचेपछि स्थानीयले क्रसर बन्द गराएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *