जनकपुर बम काण्ड : उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टायो
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १५ गते ।
उच्च अदालत जनकपुरले जनकपुर बम काण्डमा जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ ।
पूर्व राज्यमन्त्री सञ्जय साहको जन्मकैद सजायलाई उल्टाउँदै ११ वर्ष कैद सजाय सुनाइएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताए ।
उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले फैसला सुनाइसकेको र सोमबार ज्यान मार्ने षडयन्त्र मुद्दामा गरेको भनेको विषयमा छलफल भएपछि ११ वर्ष कैद सजाय ठहर भएको बताए ।
विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो ।
यसअघि गएको असोज १७ गते उच्च अदालतले जनकपुर बम काण्डकै अर्को ज्यान मार्ने उद्योग मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो। सो मुद्दामा जिल्ला अदालतले साहलाई १२ वर्ष कैदको फैसला सुनाएको थियो।
जिल्लाको फैसलाविरुद्ध गरेको रिटमा ५ वर्ष कैद सजाय कम गर्दै उच्च अदालतले ७ वर्ष कैद हुने फैसला सुनाएको थियो।
२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए।
Sponsored
सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो।
जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री टकलालाई जन्मकैद सजाय सुनाएको थियो। साह काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।
अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।