बारामा ठूलो मात्रामा लागुऔषधसहित २ भारतीय नागरिक पक्राउ
टुडेपाटी-
बारा, असोज २४ गते ।
बारामा ठूलो मात्रामा लागुऔषध इन्जेक्सनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण मोतीहारी सिसुवा बस्ने २९ वर्षीय मुन्ना कुमार र ३५ वर्षीय मुनिलाल कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गर्ने क्रममा १८ सय थान लागुऔषधसहित दुवै जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
वीरगञ्जबाट काठमाडौँ जान आएको ना.६ ख ६३७७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा डस्नाभित्र लुकाई ल्याइएको लागुऔषध डाइजेपाम ६ सय पिस, फेनारगन ६ सय र नुर्फिम ६ सय गरी १८ सय थान लागुऔषध बरामद गरिएको मिश्रले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Sponsored